काठमाडौं ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । हिजो अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बोलाइएको छ । हिजो केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजनको गृहकार्य अपुग भएको भन्दै सचिवालय बैठक स्थगित भएको थियो । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजनका विषयमा गृहकार्यपछि आज बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।बैठकको समय भने यकिन गरिएको छैन । पोलिटव्यूरो गठन गरेरमात्र केन्दीय कमिटीको कार्य विभाजन गर्ने वा केन्द्रीय सदस्यको पहिले नै गर्ने भन्नेमा भने विवाद छ । बैठकले प्रदेश कमिटीलाई पूर्णता दिनपनि अन्तिम तयारी गरेको छ । सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको प्रतिवेदनलाई सचिवालयले आज अन्तिम रुप दिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । नेकपाका स्थायी कमिटी सदस्यहरुलाई प्रदेश इन्चार्ज र महत्वपूर्ण विभागको प्रमुखको जिम्मेवारी दिइने भएको छ । पोलिटव्यूरो गठन नभएकाले तत्कालीन एमालेका पोलिटव्यूरो र तत्कालीन माओवादीको स्थायी कमिटी तथा सचिवालयमा रहेका नेताहरुमध्येबाट जिल्ला इन्चार्ज तोक्ने तयारी छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटी सदस्यहरुको नाम सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन गरिनेछ ।

Facebook Comments Box