काठमाडौं ११ मंसिर । अब निजी क्षेत्रमा कार्यरत श्रमिकले समेत अवकासपछि पेन्सन पाउने भएका छन् । आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारलेपेन्सनसहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आज घोषणा गर्दै छ । यो सँगै निजी क्षेत्रमा कार्यरत श्रमिकले समेत अवकासपछि पेन्सन पाउने भएका हुन् । नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइन लागेको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्याम अधिकारीले सीआईएनसँग बताउनुभयो । सामाजिक सुरक्षा योजनामा योगदानका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्नेछ ।रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनुपर्नेछ । आज बिहान साढे ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको घोषणा गर्नुहुनेछ ।

 

Facebook Comments Box