काठमाडौं, १ मंसिर । पछिल्लो समय नेपाली सेनाको छवि अपारदर्शी बन्दै गएको छ। त्यसैले सेनाको आचरण सुधार्न सैनिक मुख्यालयले अभियान सुरु गरेको छ। सेनाभित्र हुने आर्थिक अनियमितता, भनसुनजस्ता विकृति न्यूनीकरणका विषयमा छलफल थालिएको छ। उपहार लेनदेनको मापदण्ड समेत बनाइने भएको छ।

सैनिक आचरण सुधार्ने विषयमा मंगलबार सैनिक मुख्यालयमा छलफल भयो। प्रधानसेनापति पुर्णचन्द्र थापा पनि कार्यक्रममा उपस्थित थिए। उपहार लेनदेनको प्रचलनले संगठनको छवि धमिल्याउन सक्ने भन्दै सैनिक मुख्यालयले त्यसलाइ नियमन गर्ने तयारी गरेको हो।

सैनिक अधिकारीले उपहार लिन पाउने कि नपाउने रु सैनिक मुख्यालयमा यो बहसको विषय बनेको छ। ‘निश्चित कार्यविधि बनाएर उपहार लेनदेनलगायतका विषयलाई नियमन गर्ने तयारी भइरहेको छ,’ सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने। प्रधानसेनापति थापाले उपहार लिनेदिने विषयले राष्ट्रिय सुरक्षामा समेत गम्भीर असर पार्नसक्ने संकेत गरेका छन्। उनले संगठनमा फैलिँदै गएको अनैतिक क्रियाकलाप निरुत्साहित गर्ने कोशिस गरेका छन्।

प्रधानसेनापति थापाले आफ्नो कार्यकालयमा विद्यमान विकृति निमिट्यान्न पार्न चाहेको बताएका छन्। तर एक्लैले सबै समस्या हटाउन नसक्ने उनको भनाइ छ। आफ्नो यो प्रयासमा उच्च सैनिक अधिकारीहरुले सहयोग गर्नुपर्ने उनले बताएका छन्।

मंगलबारको बैठकमा प्रधानसेनापति थापासहित पीएसओज र सबै पृतनापति उपस्थित थिए। यद्यपि बैठकले कुनै निर्णय गरेन। सबै उच्चपदस्थ सैनिक अधिकारीले संगठनमा रहेका विकृति हटाउँदै जाने प्रतिबद्धता व्यक्त गरे। विगतमा सेनाले गरेका कामकारवाहीको समीक्षा समेत गरिएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Facebook Comments Box