काठमाडौ २४ कार्तिक । तिहार सकिए लगत्तै मधेस छठको तयारीमा जुटेको छ । तराई मधेसमा रहेका मधेसी र पहाडी समुदाय मिलेर छठ मनाउने तयारी गरेका छन् । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठको तयारीमा मिथिलाञ्चलवासी जुटेका हुन् । सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको रौनक शुरु भइसकेको छ ।नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त भएका हुन् । बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दियो, कपडा, फलफूल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकको घुइँचो लागेको सामूदायिक रेडियोहरुले खबर पठाएका छन् ।मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व पनि हिजोदेखि विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात् हिजोदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा चल्ने यस पर्वका लागि द्वितियाका दिन कलात्मक मूर्ति बनाउन माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो ।यो पर्वमा दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको समापन गर्ने गर्छन् ।

Facebook Comments Box