काठमाडौं २१ कार्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमआयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विक्रम संवत १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउनुभयो ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो ।

Facebook Comments Box