चितवन, १५ कात्तिक । भरतपुर अस्पतालले अस्पतालको गतिविधिलाई समेटेर मासिक बुलेटिन प्रकाशन सुरु गरेको छ ।
भरतपुर अस्पताल मासिक बुलेटिको पहिलो अंक बिहीबार विमोचन गरिएको छ । अस्पतालले चितवनका सञ्चारकर्मीहरुसँग नेपालीहरुको चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै भरतपुर अस्पताल मासिक बुलेटिनको विमोचन गरेको हो । सो कार्यक्रममा चितवनका सञ्चारकर्मीहरुले अस्पतालको सेवालाई सहज र गुणस्तरीय बनाउन जोड दिँदै बिरामीहरुले सहज रुपमा सेवा पाउने अवस्थाको सिर्जना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले अस्पतालको फोहोर व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको बताए । अस्पतालले महानगरपालिकालाई कर तिरेपछि अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्नु महानगरपालिकाको कर्तव्य भएको पौडेलले बताए । अस्पतालको फोहोर तीन दिनमा एक पटक मात्रै उठाइने गरेको भएपनि यसको उचित व्यवस्थापन हुन नसकेको पौडेलको भनाइ थियो ।
त्यस्तै, नवलपरासी र मकवानपुरमा ठूला अस्पताल निर्माण भइसक्दा समेत त्यहाँबाट शवहरु ल्याएर भरतपुर अस्पतालको शव गृहमा राख्नाले शव व्यवस्थापनमा समस्या भएको पौडेलले बताए । मकवानपुरको शव र दाउन्ने पश्चिमको शव आफ्नै जिल्लामा व्यवस्थापन गराउनका लागि गृहकार्य गरिरहेको पौडेलको भनाइ थियो । ६ सय बेड क्षमता भएको भरतपुर अस्पताललाई संघीय सरकारको मातहतमा राख्ने तयारी भइरहेको उल्लेख गर्दै यसलाई अझै गुणस्तरीय अस्पताल बनाएर अगाडि बढाउने पौडेलले बताए ।
शुभकामना आदानप्रादान कार्यक्रममा भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र मरासिनी, नर्सिङ मेट्रोन रमिला विष्ट, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डाक्टर प्रकाश खतिवडा, नेपाल पत्रकार महासंघ चितवनका सदस्य आनन्द पोखरेल, प्रेस चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपाल, प्रेस युनियन चितवनका कोषाध्यक्ष विप्लब काफ्ले, प्रेस सेन्टर चितवनका उपाध्यक्ष सुमन गैरेलगायतले शुभकामना तथा अस्पताल व्यवस्थापनको बारेमा अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

Facebook Comments Box