चितवन, २१ असोज । मुलुकी ऐन २०७४ लागू भएपछि कानुनी सहजताका कारण गौबध (गाई मारेको) मुद्दामा जेल सजाय भोगेका दुई जना कैदीबन्दी रिहा भएका छन् ।
अपराध संहिता २०७४ को पशुपंक्षी सम्बन्धी कसुरको दफा दुई सय ८९ मा गौबध मुद्दामा तीन वर्षसम्मको कैद हुने भनि व्यवस्था भएबमोजिम उनीहरुलाई रिहाइ गरिएको हो । चितवन जिल्ला अदालतका बैतनिक वकिल सरिता सापकोटाका अनुसार गौबध मुद्दामा चितवनका गुणखर परियार र भीमबहादुर परियारले तीन वर्ष तीन महिनादेखि जिल्ला कारगारमा कैद भुक्तान गर्दै आएका थिए । केही नेपाल कानुन संशोधन, एकीकरण, समायोजन र खारेजी गर्ने ऐन २०७४ को दफा ३९ को २ ९ग० अनुसार दुवै कैदीबन्दी रिहा भएका सापकोटाले बताइन् ।
पुरानो मुलुकी ऐन २०२० को चौपाया महलको ११ नम्बर बमोजिम गाई मारेको अभियोगमा परियार द्वयलाई जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट १२ वर्ष कैदको फैसला भएको थियो । नयाँ अपराध संहिता लागू भएपछि कानुनका धेरै विषयमा खुकुलोपना भएका कारण हातहतियार तथा अन्य मुद्दामा कारागार चलान भएका व्यक्तिहरु समेत रिहाइ हुन सक्ने भन्दै कैदीहरुको अवस्थाबारे अध्ययन गरिरहेको सापकोटाले बताइन् ।

Facebook Comments Box