पूर्णप्रसाद मिश्र 

काठमाडौं, १५ असोज । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी–साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ ।
सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी–साधनका चालकले अझै लागू गराउन खोज्दैनन् ।
विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि ४ किमिसम्मको भाडा रु १४ तोकिएको छ ।
५ किमिसम्म रु १६, ६ किमिसम्म रु १७, ८ किमिसम्म रु १८, १९ किमिसम्म रु २६ र १९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको छ ।
विभागले उपत्यका र स्थानीय ‘रुट’मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए ।
तोकिएको भाडादरभन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारबाही गरिने उनले बताए ।
‘अनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र उपभोक्तावादी संघ–संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ । अनुगमनकाक्रममा बढी भाडा लिएको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ’/ (रासस)

Facebook Comments Box