चितवन ९ असोज । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले मगलबारदेखि विभिन्न स्थानमा फ्रि वाइफाइ सेवा सञ्चालन गरेको छ । रत्ननगर नगरपालिकाले मंगलबार रत्ननगर–११ स्थित कृष्णप्रणामी मन्दिरको भवनमा एक कार्यक्रमको आयोजना गरी निःशुल्क वाइफाइ सञ्चालनमा ल्याएको हो । सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन नगरपालिकाले नगर भित्रका मुख्य बजारहरुमा निशुल्क वाइफाइ जडान गरेको छ । नगरपालिकाले टाँडीचोक, सौराहाचोक, कृष्णप्रणामी मन्दिर, बसपार्कलगायतका स्थानमा निःशुल्क वाइफाइ जडान गरेको नगरपालिकाका आईटी अधिकृत रवि तिवारीले जानकारी दिए । इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्ड नेटवर्कसँगको सहकार्यमा नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा निःशुल्क वाइफाइ जडान गरेको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्न प्रयास गरेको भन्दै प्रशंसा गरे । उनले मानवले हरेक कुरा इन्टरनेटबाट सिक्न सक्ने भन्दै बालबालिकाका लागि फ्रि वाइफाइले ठूलो मद्दत पुग्ने बताए । नगरप्रमुख नारायण वनले प्रविधिमैत्री नगरपालिका बनाउन सकिने बताउँदै अन्य स्थानमा पनि निःशुल्क वाइफाइ जडानको प्रक्रियामा अघि बढेको जानकारी दिए । कार्यक्रममा मेयर वनले नगरपालिकालाई पेपरलेन बनाउने क्रममा रहेको भन्दै नक्सापास,व्यक्तिगत घटनादर्ता,मोवाइल एप्ससंगै ‘फ्रि वाइफाइ’ सेवा सुरु गरिएको बताए । नगरप्रमुख नारायण वनको अध्यक्षतामा भएको कार्यकममा प्रदेश सांसदद्वय कृष्ण खनाल, कञ्चन खनाल, नगरउपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मी प्रशासकीय अधिकृत संगम सापकोटा, वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box