स्वास्थ्य क्षेत्रको जिम्मेवार व्यक्ति हुन फर्मासिष्ट

जय पाठक “जे.पी.”
चितवन ९ असाेज । आज फर्मासिष्टहरूको विशेष दिन । सेप्टेम्बर २५ अर्थात् “विश्व फर्मासिष्ट दिवस” । “फर्मासिष्ट :तपाईंको अाैषधी विशेषज्ञ ’’ भन्ने नाराका साथ यस वर्ष नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । भनिन्छ – थोरै खाए अमृत, धेरै खाए विष । हरेक चिजलाई सही तरिकाले प्रयोग गर्न सके अमृत समान हुन्छ तर त्यसलाई विवेकपूर्ण तवरले प्रयोग गर्न नसकिएको खण्डमा विष सरह नबन्ला भन्न सकिन्न । औषधीबिनाको उपचार सम्भव छैन । त्यो तपाईं–हामी सबैले बुझेको कुरा हो । अनि त्यही उपचार गर्ने औषधीसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् “फर्मासिष्ट” अर्थात् “औषधीविज्ञ” । विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र हो ‘फार्मेसी’ तर विडम्बना नेपालमा त्यस्तो हुन सकेन । कानुन छ, तर कारवाही हुँदैन, हुन्छ त केवल ‘नेपालको कानुन दैवले जानुन् । नियम बन्छ, तर कार्यान्वयन हुँदैन जे बन्छ, त्यो कागजमा मात्र सीमित हुन्छ । सबै क्षेत्र केवल बन्छ त अस्तव्यस्त मात्र अनि कसरी हुन्छ विकास ? यसको जिम्मेवार निकाय को ? अनि कसले गरिदिने त्यसको अनुगमन ? अनि टाउकोमा हात राखेर भन्नै पर्ने बाध्य बनाइन्छ “बिग्रिएको घरको भत्किएको चाला ।”
“एउटा चिकित्साकले एकचोटि गरेको गल्तीले एक जना बिरामीको स्वास्थ्यमा असर पर्छ, तर एउटा फर्मासिष्टले त्यही एकचोटि गरेको गल्तीले हजारौँ बिरामीहरूको स्वास्थ्यमा असर पर्छ । त्यसकारण सधैँ संयमित भएर पढ्ने गर ।” एक जना शिक्षकले बि. फार्मेसी कक्षा सुरु भएको पहिलो दिन भन्नुभएको थियो – ‘‘अहो ! कसरी ?’’ मैले निकै उत्सुकताका साथ प्रश्न गरेँ – “औषधी कम्पनीमा एउटा ब्याचमा लाखौँको सङ्ख्यामा औषधी उत्पादन गरिन्छ । त्यस समयमा फर्मासिष्टबाट एउटा सानोमात्र गल्ती हुन पु¥यो भने त्यसको सेवन गर्ने बिरामीहरूमा त्यसको असर पर्छ ? त्यतिमात्र कहाँ हो र, तिमीहरूले पत्ता लगाएको कुनै एउटा नयाँ औषधी राम्रोसँग अध्ययन नै नगरी बजारमा आयो भने त्यसको असर कति बिरामीमा पर्ला ? आफैँ सोच त, त्यसकारण आफ्नो पेसाको संवेदनशीलतालाई कहिल्यै नभुल्नु” उहाँले भन्नु भएको थियो ।विभिन्न अध्ययनहरूलाई हेर्ने हो भने यहाँ औषधी खान नपाएरभन्दा खाएर मर्ने तथा त्यसको शरीरमा नकारात्मक असर पर्नेहरूको सङ्ख्या बढी देखिन्छ । कारण हो, औषधीको विवेकपूर्ण प्रयोग नहुनु । साथै आम जनमानसमा पैसा तिरेर औषधी किनेर खान पाउनु आफ्नो अधिकार हो भन्ने भ्रम रहेको पाइन्छ । फलस्वरुप चिकित्सकको सल्लाह बिनै औषधीको खोल देखाएर, नाम भनेर, मोबाइलमा म्यासेज वा फोटो देखाएर फार्मेसीमा औषधी लिन आउनेको सङ्ख्या उल्लेखनीय पाइन्छ । जहाँ चिकित्सकको पूर्ण सिफारिस नहुने हुँदा उक्त औषधीको प्रयोग बिरामीका लागि आवश्यक हो वा होइन भन्ने कुरा सुनिश्चित हुँदैन । यतिमात्र नभई प्रेस्क्रिप्सन बिना बिक्री–वितरण गर्न नहुने औषधी कानुनी प्रावधानलाई अवलम्बन गर्दै बिना प्रेस्क्रिप्सल बिक्री–वितरण गरेको खण्डमा औषधी क्रेता झर्कने, झगडा गर्न तम्सने तथा “मैले मागेपछि दिनोस् न, के फरक पर्छ ? औषधी मेरा लागि हो, मैले खाने हो, तपाईंलाई के मतलब । असल गर्छ त मलाई गर्छ’’ भन्नेजस्ता तथ्यहीन तर्कहरु पेश गर्दै स्वास्थ्यकर्मीलाई नै अप्ठ्यारो पार्ने किसिमका अभिव्यक्तिहरु राख्ने गर्दछन् । अझै भनौँ, स्वास्थ्यकर्मीको सल्लाह लिन खोज्दैनन् वा दिएका सुझावलाई समेत वेवास्ता गर्दछन् । जसको कारण आफ्नो स्वास्थ्यलाई जोखिममा पारिरहेका हुन्छन् । हामी चिकित्सक र फर्मासिष्टको सल्लाहबिना नै आफूखुसी वा हचुवाको भरमा औषधी प्रयोग गर्छाैं, अझै भनौं आफ्नो घर वा छिमेकको व्यक्तिलाई बिरामी पर्दा ल्याएको औषधी आफूलाई पनि त्यस्तै समस्या भएको त हो नि, किन जचाउँनुप¥यो, अनि किन सल्लाह लिइराख्नु प¥यो भन्छौँ र त्यसको प्रयोग गर्छाैं । त्यो औषधी आफूले प्रयोग गर्नु हुन्छ कि हुँदैन, त्यसको प्रयोगले आफ्नो स्वास्थ्यमा नराम्रो असर पो गर्छ कि ? भन्नेजस्ता कुरामा खासै ध्यान दिँदैनौं । जसको कारण हाम्रो शरीरमा सामान्यदेखि जटिल समस्या समेत नआउला भन्न सकिँदैन, त्यसले गर्दा हाम्रो शरीर जोखिममा समेत रहन सक्छ । अनावश्यक रूपमा एन्टिबायोटिक्सको प्रयोग गर्नु, औषधी पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नुजस्ता विभिन्न कारणले गर्दा दिन–प्रतिदिन औषधीले काम गर्न छाड्ने नेपाल लगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ । बच्चा जन्मेदेखि नै हाइ–डोजको एन्टिबायोटिक्स प्रयोग गर्ने एउटा संस्कार नै बनिसकेको छ । “मेरो बच्चालाई एन्टिबायोटिक्स नचलाई सञ्चै हुँदैन त्यहि दिनोस् ।” प्रत्येक आमा–बाबुको मुखबाट सुन्न सकिन्छ । त्यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? बिचरा त्यो अबोध आमा–बाबुलाई के थाहा, त्यहाँ उनीहरूमा जानकारीको अभाव छ । औषधीको विवेकपूर्ण प्रयोगलाई ख्यालै नगरी औषधीको अन्धा–धुन्ध प्रयोग गर्दै जाने हो भने औषधीले बिस्तारै काम गर्न छाड्दै जाने र नयाँ प्रभावकारी औषधी बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय सङ्कटकाल नआउला भन्न सकिँदैन । त्यसतर्फ फर्मासिष्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी, उपभोक्ता र सबैजना सचेत बन्नु आवश्यक छ । हस्पिटलका फार्मेसीहरू निजीकरण गरिनु, जसले गर्दा आम उपभोक्ता औषधीको गुणस्तर र मूल्यमा ठगिनुपरेको गुनासाहरू बाहिर आउने गरेको छ । देशका होनाहार युवायुवतीहरू लागु औषधीको दुव्र्यसनमा फस्नु, स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थी र स्वास्थ्यकर्मी स्वयम् यसबाट अछुतो नरहनु, गर्भनिरोधक ७२ घण्टे आकस्मिक चक्की अस्थायी साधनका रूपमा प्रयोग गरिनुलाई युवापुस्ताले फेसन नै बनाएका छन्, जसको कारणले औषधीको दीर्घकालीन असर हुनाका साथै त्यस्ता व्यक्तिहरूले सावधानी नअपनाउँदा यौनजन्य सरुवा रोगको प्रकोप बढ्ने उच्च जोखिम समेत उत्तिकै देखिन्छ ।बिना दर्ता फार्मेसी सञ्चालन गरिनु, दर्ता भएकाहरूको पनि आफ्नो लाइसेन्स नहुनु, औषधी बिक्री–वितरण गर्दा फर्मासिष्ट उपस्थित नहुनुजस्ता थुप्रै अवैधानिक गतिविधिहरू सञ्चालन भइराख्दा पनि विभिन्न कानुनहरू हुँदाहुँदै पनि औषधीको हालीमुहाली सुम्पिएर बसेको संस्था – औषधी व्यवस्था विभाग “म पिटेझैँ गर्छु, तँ रोएझैँ गर्’ भनेजस्तै गरेर मूकदर्शक बनेर बसेको देखिन्छ । यो लाचारीपन कहिलेसम्म हावी रहने हो ? फार्मेसीलगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको समयमै ध्यान पुगोस् । औषधीलगायत औषधीजन्य पदार्थहरूको लागि विदेशको मुख ताक्नु पर्ने अवस्था आगामी दिनहरूमा नआओस् । देशमा थुप्रै सम्भावनाहरू छन् त्यस्ता सम्भावनाहरू खोजी गर्न तथा औषधीजस्तो संवेदनशील क्षेत्रको विकास गर्न तथा स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासमा फर्मासिष्टहरूको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यसको लागि चिकित्सक, अन्य स्वास्थ्यकर्मी, राज्य र त्यस मातहतका सम्बन्धित निकायको पनि सहयोग र साथको खाँचो छ, औषधीको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्य जस्ता कुरा कहिल्यै नभुलौँ ।उपचारको क्रममा हरेक औषधीको आ–आफ्नै सेवन तथा प्रयोग विधि हुन्छन्, तर बिडम्बना ! बिचरा त्यो औषधी कतिबेला, कस्को लागि, कति मात्रामा, कसरी सेवन गर्ने भन्नेजस्ता स्तरीय निर्देशनलाई समेत कुन औषधी कतिबेला, कस्को लागि, कति मात्रामा, कसरी सेवन गर्ने भन्नेजस्ता स्तरीय निर्देशनलाई समेत पालना नगरी आ–आफ्नै तरिकाले जसरी मनलाग्यो त्यसैगरी प्रयोग गर्ने परिपाटी बढ्दै गएको पाइन्छ । जसको प्रतिफल स्वास्थ्य क्षेत्रमा नै ठूलो सङ्कट नआउला भन्न सकिन्न । त्यसकारण औषधीको सही र विवेकपूर्ण प्रयोगतर्फ सम्बन्धित सम्पूर्ण निकायले समयमै ध्यान पु¥याउनु जरुरी छ । बिरामीको उपचार गर्नु हामी स्वास्थ्यकर्मीको मूल उद्देश्य हो, त्यसको लागि हातेमालोँ गरौँ । कोही उपचारबाट बञ्चित हुन नपरोस् । स्मरण रहोस् – “सेवा नै ठूलो धर्म हो ।”
(लेखक पाठक नेशनल सिटी हस्पिटल, चितवनका फार्मेसी इन्चार्ज हुनुहुन्छ साथै भरतपुर अस्पतालमा पनि कार्यरत हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →