शिशिर सिंखडा
खोलेसिमल, चितवन, ६ असोज । प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा सहकारी क्षेत्र रहेको बताएका छन् । सरकार, सहकारी र निजी क्षेत्र देशको अर्थतन्त्रको तीन खम्बा रहेको भन्दै मन्त्री लामाले हरेक नेपाली र हरेक क्षेत्रसँग जोडिएको सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड बन्दै गएको समेत बताएका छन् ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री लामाले सहकारीहरुले सरकारसँग समन्वय गरेर ठूला ठूला परियोजनामा लगानी गर्न समेत उनले आग्रह गरे । सुखी नेपाली, समृद्ध नेपाल बनाउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै मन्त्री लामाले अब सहकारीले बढी भन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने समय आएको समेत बताए ।

भूमिहिन, सुकुम्बासी, बाढीपिडीत लगायत अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न र उनीहरुको समस्या गर्न सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्री लामाले भूमि समस्या समाधान प्रतिवेदन तयार भइसकेकोले आगामी संसद अधिवेशनबाट छलफल गरी कार्यान्वयन गरिने समेत उनले बताए । हरेक नेपाली जग्गा धनी पूर्जा विहिन हुन नहुने तर्फ सरकार लागिरहेको समेत उनले बताए ।


कार्यक्रमका विशिष्ट अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले गरिबी न्यूनीकरणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । स्थानीयस्तरमा सुरक्षित सहकारीले गरिबी न्यूनीकरणका अतिरिक्त संस्कृतिको संरक्षण र जगेर्ना गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गरेर यस क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको समेत उनले बताए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष द्रोण प्रसाद लामिछाने, शेयर सदस्यहरु दिपक लामिछाने, गीता देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा संस्थालाई महत्वपूर्ण योगदान पु¥याउने शेयर सदस्यहरु प्रमेश भट्टराई, गोपिन्द्र चौधरी, इश्वर कुमार श्रेष्ठ, रचना लामा, अजम्वरी बचत तथा ऋण सहकारी संस्थालाई कदर पत्र प्रदान गरिएको थियो । यस्तैगरी संस्थाका शेयर सदस्यहरु मध्ये बाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्य विष्णुमाया लामिछानेका छोरा निशान लामिछानेलाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तैगरी ज्येष्ठ सदस्य ऋषिराम पगेनी र संस्थाका निवर्तमान अध्यक्ष द्रोण प्रसाद लामिछानेलाई पनि सम्मान गरिएको थियो ।


संस्थाका अध्यक्ष शितल काजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओम प्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सचिव भीम प्रसाद लामिछानेले प्रगति प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक द्रोणाचार्य रेग्मीले आन्तरीक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भिम प्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अध्यक्ष शितल काजी श्रेष्ठले संस्थाको भावी नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

Facebook Comments Box