काठमाडौँ,२९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएको बताएकी छिन् ।

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको बाबु आमा यसरी न्यायका लागि छट्पटिरहनु दुःखद भएको बताएकी हुन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकी छिन् ।

“ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ । ” उनले भनिन् ।

भण्डारीले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिन्छ भनिन् ।

“कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ ।” राष्ट्रपति भण्डारीले भनिन् ।

यसवर्षको बाल दिवसको नारा “सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार” रहेको छ /

साभार :मकालु खवर

Facebook Comments Box