चितवन, २३ भदौे । खैरहनीमा रहेको ग्रेट एफएम र राप्तीमा रहेको ग्रेट प्लस एफएमले तीज उत्सव गर्ने भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा राप्ती नगरपालिकामा यही भदौ २६ गते र खैरहनी नगरपालिकामा भदौ २७ गते तीज उत्सव आयोजना गर्न लागेको एफएमका प्रवन्ध निर्देशक अनिल कुँवरले जानकारी दिए ।
केही वर्ष अघि जिल्ला प्रशासन कार्यालय चितवनले तीजमा प्रतियोगिता नगर्न आह्वान गरे अनुसार ग्रेट एफएमले तीजलाई उत्सवको रुपमा मनाउँदै आएको छ । तीज उत्सवमा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनुका साथै विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तीहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको छ ।
उत्सवमा माग्ने वुढा,दिपिका प्रसाई,रेखा थापा,सामराग्य राज्यलक्ष्मी शाह,चर्चित कवि नवराज पराजुली लगायत स्थानीय लोकदोहोरी गायक गायिका तथा पर्सा डान्स एकेडेमीको प्रस्तुती रहने प्रवन्ध निर्देशक कुँवरले वताए । सोही अवसरमा एक जना डाक्टर र एक जना पत्रकारलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको ग्रेटएफएमका सचिव अर्जुन लम्सालले जानकारी दिए ।

Facebook Comments Box