चितवन भदौ १७ । चितवनमा अण्डा उत्पादनमा संलग्न किसानहरूले लागत मूल्यसमेत नपाएको गुनासो गरी रहँदा उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् । किसानले उत्पादन गरेको अण्डा झन्डै पाँच तह पार गरी उपभोक्तासम्म पुग्छ । चितवनका राजेन्द्र लामिछानेको फार्मबाट दैनिक ६५ हजार गोटा अण्डा उत्पादन हुने गरेको छ ।

एउटा अण्डाको सरदर आठ रुपैयाँ मूल्य पाएका छन् । दुई वर्षअघि नै एउटा अण्डाको उत्पादन लागत १० रुपैयाँ पर्ने निक्र्यौल भएको थियो ।  ‘त्यो बेलाको हिसाबमा पनि एउटा अण्डा लागतभन्दा दुई रुपैयाँ कममा बिक्री गर्न बाध्य छौं’ उनले भने । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले ठूला अण्डाको प्रतिक्रेट खरिद मूल्य २ सय ६० र मझौलाको १ सय ९५ रुपैयाँ तोकेको छ । तोकेकै मूल्य किसानले पाउँदा पनि साना र मझौलाको गरेर सरदर प्रतिक्रेट २ सय ४० रुपैयाँसम्म पाएका छन् । एक क्रेटमा ३० वटा अण्डा हुन्छ ।

‘कम मूल्य छ भनेर नबेच्ने कुरा भएन । यो चाडो बिग्रने वस्तु हो । बेच्दा पूरै घाटा छ’ लामिछानेले भने । अघिल्लो वर्ष यो बेलामा प्रतिक्रेट अण्डाको खरिद मूल्य अहिलेको भन्दा सय रुपैयाँ बढी थियो । यो वर्षको वैशाखमा पनि ३ सय ३० रुपैयाँ पुगेको थियो । पछिल्लो समय किसानले पाउने अण्डाको मूल्य निरन्तर घट्दो छ । उपभोक्ताको खरिद मूल्य भने घटेको छैन । अण्डा उत्पादक संघले उपभोक्ता मूल्य १२ रुपैयाँ तोके पनि कायम हुन सकेको छैन । सरकारले बजारमा ध्यान नदिँदा यस्तो हुन गएको उत्पादकहरूको भनाइ छ । सुरुमा अण्डा उत्पादकले सप्लायर्सलाई बेच्छन् । सप्लायर्सले होलसेल विक्रेतालाई दिन्छन् । होलसेलले खुद्रा र खुद्रा विक्रेताले साइकल वा भ्यानलाई बेच्छन् । त्यहाँबाट किराना पसलहरूमा पुगेपछि मात्रै उपभोक्ताको हातमा अण्डा पर्छ । अण्डा बजारको यो झन्झटिलो बिक्री प्रणालीले किसान र उपभोक्ता मारमा परेको उत्पादकहरू बताउँछन् ।

Facebook Comments Box