चितवन, असार २१ । कुमरोज सामुदायिक वनमा जीप सफारी वन्द भएको भनेर संचार माध्यम मार्फत गलत प्रचार गरिएको भन्दै सो सामुदायिक वनले आपत्ति जनाएको छ ।
सौराहाका जीप व्यवसायीसहित आधा दर्जन संघसंस्थाहरुले कुमरोजमा जीप सफारी वन्द गरिएको भनेर मिडियावाजी गरेको भन्दै कुमरोज वनले आपत्ति जनाउँदै गलत प्रचार नगर्न चेतावनी समेत दिएको छ ।
जीप संचालनका विषयमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि विहीवार आयोजित छलफल कार्यक्रममा वनका अध्यक्ष हिरावहादुर गुरुङले गलत प्रचार नगर्न चेतावनी दिए । साथै वाहिर आएको हल्ला जस्तो कुमरोज सामुदायिक वनमा जीप सफारी वन्द नरहेको उनले वताए ।
सौराहाका व्यवसायीहरुले आफ्ना गाडीहरु कुमरोजमा प्रवेश गर्नु पर्ने र कुमरोजका गाडी कठार पनि जानु पर्ने माग गर्दै आएका छन् तर कुमरोजका व्यवसायीहरुले भने आफुहरु स्थानीय भएकाले प्राथमिकता पाउनु पर्ने भन्दै यही संचालन गर्नु पर्ने वताउँदै आएका छन् । यसकै कारण पछिल्लो समय विवाद वढ्दै गएको हो ।
ति व्यवसायीहरुले हल्ला फिजाएपनि कुमरोजका ११ वटा जीप र सौराहाका केही जीपहरु अहिले सो सामुदायिक वनमा संचालन भईरहेका छन् ।

यसअघिनै कुमरोज वनमा भएको सहमती अनुसार पहिलो २५ वटा मध्ये दुवैबाट आधा आधा जीप संचालन गर्ने सहमती भएको थियो ।
छलफलमा चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले एक दुई जना व्यवसायीलाई अप्ठ्यारो पर्दा अनावश्यक हल्ला फिजाउनु गलत भएको वताए ।

कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना,वुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमल्सीना,क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी मिलेर जान सुझाव दिए ।
यस विवादका विषयमा आउँदो शनिवार पुन वैठक वस्ने निर्णय भएको छ ।

Facebook Comments Box