चितवन,कार्तिक १३ – (रासस)
चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले अण्डा पार्न थालेका छन् ।
गत वर्ष १५ वटा गिद्धले अण्डा पारेका थिए भने यस वर्ष एउटा गिद्धले अण्डा पारिसकेको छ । नोभेम्बररडिसेम्बर महिनामा अण्डा पार्ने भए पनि यस वर्ष केही छिटो अण्डा पारेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् । गत वर्ष १५ वटा अण्डा पारेको भए पनि ९ वटाबाट मात्रै बच्चा कोरलिएका थिए । तीमध्ये ८ वटा जीवितै रहेका छन् ।
केन्द्रमा २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको खड्काले जानकारी दिए। ८ वटा बच्चाको लिंग पहिचान हुन सकेको छैन । गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउन सकिने उनले बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा डिएनए परीक्षण गरी लिंग पहिचान गरिँदै आएको छ ।
१९ गिद्धलाई छाडिने
चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छोड्ने योजना रहेको छ । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । यद्यपि ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध गत वैशाख २ गते नवलपरासीमा रहेको जटायु रेस्टुराँ नजिक खोर निर्माण गरी राखिएको छ । तिनीहरुलाई प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने व्यवस्था गरिएको छ । जसका कारण उनीहरुलाई प्राकृतिक रुपमा कसरी खाना खाने र प्रकृतिसँग घुलमिल हुने भन्ने बारेमा सिक्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
आगामी नोभेम्बरमा जटायु रेस्टुराँमा रहेका ६ वटा गिद्धलाई प्रकृतिमा खुला छाडिने योजना रहेको छ । तिनीहरुलाई छाडिसकेपछि पुनःप्रजनन केन्द्रबाट ५ वटा गिद्ध जटायु रेस्टुराँ लगिने कँडेलले जानकारी दिए ।
यो समेत १९ वटा गिद्ध प्रकृतिमा छाड्न लागिएको हो । प्रकृतिमा छाड्ने गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ । विश्वमै पहिलोपटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो ।

Facebook Comments Box