कार्तिक ९-

मूख्य निर्वाचन अधिकृतसहित दुई निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै चितवनमा निर्वाचनको माहोल सुरु भएको छ ।

आज भरतपुरमा मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले कार्यालयको स्थापना गर्नुभयो । मूख्य निर्वाचन अधिकृत शर्माले समग्र जिल्लासंगै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२ को नेतृत्व गनुहुनेछ ।

यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ को निर्वाचन अधिकृतमा परमेश्वर पराजुली र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.३ को निर्वाचन अधिकृतमा शम्भुराज रेग्मी रहनुभएको छ । निर्वाचन अधिकृतहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र अन्तरगत पर्ने प्रदेश सभाको समेत निर्वाचनको नेतृत्व गर्नुहुनेछ ।

चितवनमा प्रतिनिधि सभामा तीन वटा निर्वाचन क्षेत्र कायम गरिएको छ भने प्रदेश सभा तर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल ३ लाख ५४ हजार मतदाता रहेका छन् ।

मूख्य निर्वाचन अधिकृत शर्माले चितवमा यसपटक भव्य र सभ्य रुपमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चितवनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले यस पटकको निर्वाचनमा सुरक्षा व्यवस्थालाई कडा पार्न निर्वाचन स्थलको वर्गीकरण गर्न लागिएको बताउनुभएको छ । यसपटक एक हजार ७ सय १० जना म्यादी प्रहरी खटाईने जानकारी दिनुभयो ।

Facebook Comments Box