चितवन । बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ लाई मध्यनजर गर्दै, माडीको एकमात्र अस्पताल बघौंडा अस्पताललाई आज अक्सिजनसहित स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ताद्वय तारा पौडेल र एन्ड्र पौडेलको संयुक्त टिमको तर्फबाट बघौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

आज उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन सिलिन्डर ५ थान, पीपीइ ५० थान, गम बुट २५ जोर,अक्सिमिटर २ थान,मेडिकल गलक्स २०० जोर, थर्मामिटर गन २ थान, एन ९५ मास्क ५० थान, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् । सामाग्री ग्रहण गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा। रन्जु सिंहले उपलब्ध सामग्रीहरुले कोभिडको रोकथाम तथा नियन्त्रणमा थप टेवा पुग्ने जनाउँदै सहयोगी मनहरुमा धन्यवाद दिए । यसैगरी माडी क्षेत्रको बिकासको लागि संगसंगै आपतमा परेका नागरिकहरुको सहयोगी साथी बनेका सामाजिक अभियान्ता तारा पौडेलले पछिल्लो समय दोश्रो लहरको रुपमा फैलिएको कोभिडको रोकथाममा आँफुहरु निरन्तर लागिरहेको बताए । उनले विशेषगरि यो समयमा गरिब किसानहरु जो काम गरेर खाने मजदुर बर्गहरु झनै पीडित रहेको हुँदा उनीहरुको लागि पनि सरकारी तवरबाट नै सहयोगी भाबनाको बिकास गर्नुपर्ने बताए । पौडेल बिगतको कोभिड महामारीमा पनि माडी आएर सहयोगी भाबना जगाएका थिए ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेलले कोभिड बिरुद्धको लडाई साझा बिषय भएको भन्दै यसको नियन्त्रण र रोकथाममा सबैको सहयोग र सहकार्य हुनु नै आजको अपरिहार्य आबश्यकता रहेको प्रतिक्रिया दिए । साथै उनले, यो महामारीको समयमा सबैले एक आपसमा सहयोगी भाबनाको बिकास गराउनुपर्नेमा जोड दिए । यो संगसंगै समाजमा चेतनाको दियो बाल्दै, कोभिडलाई परास्त गर्न सक्ने क्षमताको सबैमा बिकास गर्नुपर्ने बताए ।

Facebook Comments Box