चितवन : रत्ननगर नगरपालिकाले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गर्न आफ्नै कार्यविधि निर्माण गरेको छ । भूमि सम्बन्धी समस्याा समाधान आयोगको नियमानुसार पूर्जा वितरण गर्दा नगर क्षेत्रको सार्वजनिक जग्गा नरहने खतरा बढेपछि नगरपालिकाले आफ्नै कार्यविधि बनाएको हो ।

नगरपालिकाले आज शनिबार नगरपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाका भावी सन्ततीलाई सार्वजनिक उपयोगको जग्गाको उपलब्धतामा असर नपु¥याओस् भन्नका लागि कार्यविधि ल्याईएको जनाएको छ । नगर प्रमुख नारायण वनले भावी पुस्तालाई समेत स्वतः प्राप्त सार्वजनिक स्रोत जमिनको उपयोग गर्ने अधिकार सुनिश्चित गर्न कार्यविधि ल्याईएको बताउनुभयो । उहाँले भन्नुभयो “आयोगको नियमानुसार जग्गा वितरण गर्ने हो भने रत्ननगरमा जग्गा नै पुग्दैन ।” उहाँले नगरभित्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई अन्यत्र लगेर जग्गा दिनुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिनुभयो ।

आयोगको नियम न्यायसँगत नदेखिएपछि आफै कार्यविधि बनाउनु परेको बताउँदै नगरप्रमुख वनले न्यूजभित्तोसँग भन्नुभयो “हामीले तयार पारेको कार्यविधि वैज्ञानिक छ भन्ने लागेको छ ।” आफ्नै कार्यविधि बनाउनु स्थानीय सरकारको अधिकार भएको बताउँदै नगरप्रमुख वनले भन्नुभयो “हाम्रो कार्यविधि अनुसार जग्गा वितरण गर्दा नगरपालिकालाई ४०÷५० विगाहा सार्वजनिक जग्गा बचाउन सकिन्छ ।”

अव्यवस्थित बसोबासीका नाममा धनाढ्यले जग्गा पाउने केन्द्रीय कार्यविधिका केही प्रावधानलाई परिवर्तन गर्नु परेको नगर प्रमुख वनको भनाई छ ।

नगरपालिकाको कार्यविधिमा यस अगाडि विभिन्न आयोगबाट वितरण गरिएका अनुसूचि २ फारम भरेका, पुरातात्विक, ऐतिहासिक महत्वका स्थान रहेका, पानीको मुहान वा सीमसार क्षेत्रमा असर पु¥याएका वा पूर्व गठित आयोगबाट वितरण गरिएको जग्गाको टोकन तथा सेतो पूर्जा खरिद गर्ने अव्यवस्थित बसोबासीहरुको जग्गा सिफरिस गर्न नसकिने उल्लेख छ । यसैगरी अव्यवस्थित बसोबासीको नम्बरी जग्गासँग जोडिएको सरकारी जग्गामा बनेको घर वा जग्गा सिफरिस नगर्ने कार्यविधिमा उल्लेख छ । यस्तै खोला सीमानाबाट ३० मिटर दूरी भित्रको नम्बरी छोडेर नितान्त सरकारी जग्गामा बनाईएको घरलाई सो जग्गा उपलब्ध गर्न सफरिस नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख विमला दुवाडी नगरसभाले सर्वसम्मतीले पारित गरेको कार्यविधिको इतिहासले मूल्यांकन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नगरसभामा कसैले विपक्षमा बोलेको छैन । सबै एकमत भएर यो कार्यविधि ल्याईएको हो ।”

पत्रकार सम्मेलनमा शुक्रवार सम्पन्न विशेष नगर सभाले तीन महत्वपूर्ण विधेयक, नियमावली र कार्यविधि पारित गरेको जानकारी दिईयो । विशेष नगर सभा गरी भूमिहीन दलीत, भूमिहिन सुकुम्बासी र अव्यवस्थितलाई लालपूर्जा वितरणको लागि अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि, विगत चार बर्षदेखि निरन्तर एउटै पदमा कार्यरत कर्मचारीलाई एकतह बढुवा सहित समायोजन गर्ने गरी कर्मचारी समायोजन विधेयक ल्याएको न्यूजभित्तोलाई जनाईएको छ । ६६ जना कर्मचारीहरुको प्रतिमहिना १० प्रतिशत तलब र सोमा सतप्रतिशत थप गरी कल्याणकोष बनाउने गरी अस्थायी तथा करार कर्मचारी कल्याणकोष नियमावली नगर सभाले पारित गरेको सो अवसरमा नगरप्रमुख वनले जानकारी दिनुभयो । सो नियमावली पास भएसँग अब रत्ननगरमा काम गर्ने अस्थायी तथा करार कर्मचारीहरुले पनि उपदान पाउने भएका छन् ।

Facebook Comments Box