चितवन । रत्ननगर नगरपालिकाले वडा नं २ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको मंगलवार औपचारिक उद्घाटन गरिएको छ । बजार क्षेत्रमा हुने सवारीचाँपलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको हो । रत्ननगर नगरपालिकाका एक करोड २० लाखको लगानीमा निर्माण गरिएको सो बसपार्क मंगलवारदेखि सञ्चालनमा ल्याइएको हो ।

बसपार्कको उद्घाटन गर्दै मेयर नारायण वनले टाँडी बजारको सुन्दरताको लागि आकासेपुल पछि बजारको बीच भागमा पर्ने गरी बसपार्क निर्माण गरिएको बताए । बकुलहर,सौराहाचोक र टाँडीचोकबाट चल्ने म्याजिक,पर्यटकीय बस तथा तीनपाङ्ग्रे सवारी साधन पार्किङ गर्ने गरी बसपार्क सञ्चालनमा ल्याइएकोे बताए । नगर भित्र पूर्वाधार निर्माणको काम तीब्र रुपमा भइरहेको भन्दै उनले अब हरियाली र सुन्दर पर्यटकीय शहरको रुपमा नगरलाई विकास गर्ने अभियानमा नगरबासीको साथ हामीलाई चाहिएको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा हामीले दर्जनौं मुद्दा खेपिरहेका छौं मेयर वनले भने जग्गा नभइ पूर्वाधार बन्दैनन,साझा हितका लागि हामी अझै मुद्दा खेप्न तयार छौं ।

कार्यक्रममा उपमेयर विमला दुवाडीले बजार क्षेत्रमा हुन सक्ने सवारी साधनको चाँपलाई मध्यनजर गरी चिटिक्कको बसपार्क सञ्चालनमा ल्याइएको बताइन । वडा नं ७ का वडाध्यक्ष राजन भट्टले सुकुमबासी र भूमिहीनलाई लालपूर्जा वितरण सम्बन्धी ऐनले रत्ननगरको सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई कमजोर बनाएको बताए । पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य राजेन्द्र हमालले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,टोल विकास संस्था तथा आमा समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box