चितवन । नेपाल प्रेस युनियन चितवनले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्ने गरी निर्वाचनमा होमिन सबै संगठन समक्ष आह्वान गरेको छ ।

युनियनको आज (बुधबार) भरतपुरस्थित कार्यालयमा बसेको बैठकले सबै संगठनहरुलाई समावेश गर्दै युनियनको नेतृत्वमा निर्वाचनमा होमिने गरी अघि बढ्न सबैसंग आह्वान गरेको हो । युनियनका अध्यक्ष अनिल ढकालले जिल्लामा क्रियाशिल सबै पत्रकारसम्बद्ध संगठनहरुसंग समन्वय गरेर युनियनको नेतृत्वमा अघि बढ्ने गरी सहकार्य गर्न सबैसंग आह्वान गर्ने निर्णय गरिएको जानकारी दिए ।

पत्रकार महासंघमा श्रमजीवी पत्रकारहरुको उपस्थितिका लागि भए पनि सबैसंग सहकार्य गर्ने बेला आएकोले युनियनले आफ्नो नेतृत्वमा सबैलाई मिलाएर लैजाने ढकालले बताए । ‘हाम्रो नेतृत्वमा सबैलाई मिलाएर लैजान चाहन्छौं, श्रमजीविको मुद्धालाई अघि बढाउन सबै मिलेर जानु उत्तम देखिन्छ’–अध्यक्ष ढकालले भने ।

युनियनले निर्वाचनकै सन्दर्भमा रहेर विहीबार विहान युनियनका अगुवा पत्रकारहरुसंग छलफल गर्ने निर्णय समेत गरेको छ । साथै निर्वाचन लक्षित विभिन्न पक्षहरुसंग चरणवद्ध रुपमा छलफल गर्ने निर्णय समेत गरिएको सचिव प्रस्ताव सुवेदीले जानकारी दिए । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लाको एकैसाथ चैत २५ गते निर्वाचन हुँदैछ । महासंघको बुधबार बसेको बैठकले निर्वाचनको मिति तोकेका हो । मिति तय भएसंगै महासंघको निर्वाचन माहोल तातेको छ ।

होली मिलन कार्यक्रम हुने

नेपाल प्रेस युनियन चितवनले नेपालीहरुको महान् चाड होली पर्वको अवसरमा ‘होली मिलन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
बुधबार बसेको बैठकले सबै पत्रकारबीच आत्मीयता बढोस् भन्ने उद्देश्यले चैत १५ गते होली मिलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष अनिल ढकालले जानकारी दिए ।

युनियनले विभिन्न चाडपर्वहरुमा पत्रकारहरुबीच आत्मियता बढाउन विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आइरहेको छ । गत पुस महिनामा युनियनले पिकनिक कार्यक्रम समेत आयोजना गरेको थियो । प्रेस युनियनले पत्रकारहरुको क्षमता अभिवृद्धका लागि विभिन्न तालिम समेत प्रदान गर्ने गरेको छ भने पत्रकारहरुमाथि आइपरेका समस्या समाधानका लागि पनि अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

 

Facebook Comments Box