अजित अधिकारी
चितवन । विश्व साइकल यात्री पुष्कर शाह सहितको टोली आज माडी आइपुगेको छ । माडीको धार्मिक एबम ऐतिहासिक स्थलको अबलोकन गर्न उक्त टोली साइकल चलाएर नै माडी आएको हो । सो टोली माडीको सयौं गन्तव्य नगरीमा रहेको मूर्ति नै मूर्तिको फुलबारीको रुपमा परिचित सोमेश्वर गढीको स्थलगत अबलोकन गर्नको लागि त्यसतर्फ प्रस्थान गरेको छ ।

पर्यटन र पर्यावरण संगसंगै भन्ने नारासहित सो टोली माडी प्रबेश गरेको हो । उक्त टोलीलाई माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल र उप प्रमुख ताराकुमारी काजी महतोसंगै जनप्रतिनिधी, कर्मचारी, पत्रकार, व्यवसायी, विद्यार्थी, महिला समूह र स्थानीय सामाजिक अगुवाहरुले माडीको बसन्तपुर बजार स्थित सहिद चोकमा पुष्पगुच्छा सहित भब्य स्वागत गरेका थिए । सो यात्रामा नेपालका एक दर्जन भन्दा बढी जिल्लाका १०० जना भन्दा बढी साइकलयात्रीहरु सहभागी रहेका थिए । सहभागीहरुले माडी धार्मिक क्षेत्रमा मात्र नभई प्राकृतिक शौन्दर्यताले समेत अगाडि रहेको जिकिर गरे ।

Facebook Comments Box