रत्ननगर । रत्ननगर नगरपालिकाले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणको लागि सो नगरपालिकाले प्रदान गर्ने १७ लाख रुपैया मध्य पहिलो चरणमा १० लाख रुपैया प्रदान गरेको हो ।
नगरपालिकाको तर्फबाट १५ लाख,जनप्रतिनिधिको तर्फबाट १ लाख र कर्मचारीको तर्फबाट १ लाख गरी १७ लाख आर्थिक सहयोग गर्ने यस अघिनै घोषणा गरिएको लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । बुधवार रत्ननगर नगरपालिकाका मेयर नारायण वन,प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई १० लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

सो अबसरमा मेयर वनले कोरोना महामारीका कारण रंगशाला निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाई भएको बताए । चितवनमा अन्तर्राष्ट्रिय गौरभको आयोजना बनिरहेको छ उनले भने रंगशाला अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौं ।
चितवन मुलुकको तेश्रो पर्यटकीय गन्तव्य भएकाले रंगशालाले जिल्लामा खेलकुदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी ७ लाख रुपैया पछि छिट्टै हस्तान्तरण गरिने बताए ।

Facebook Comments Box