काभ्रे । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना सङ्क्रमणबाट मुक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन् । सङ्क्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको शुक्रबार घरमै गई तिमल्सिनाले स्नातकसम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका हुन् ।

किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताए । “चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भइरहेका बेला कोरोना सङ्क्रमितलाई दुव्र्यवहार हैन, हौसला प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले उनको अभिभावकत्व ग्रहण गरेको हुँ”, उनले भने । किशोरी हाल कक्षा १२ मा अध्ययनरत छिन्। किशोरीको परिवारमा छ सदस्य छन् । परम्परागत रुपमा सामान्य खेतीपाती गर्दै आएको परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।

नगरप्रमुख तिमल्सिनाले आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा सङ्क्रमणमुक्त किशोरीले खुशी व्यक्त गरिन् । किशोरीमा कोरोना सङ्क्रमण देखिएपछि गत साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । रासस

Facebook Comments Box