चितवन,२४,भदौ ।
यसवर्षको जितिया पर्व भदौ २८ गतेका दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाहरुले आफूहरु विभेदमा परेको महशुस गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा बेलुकीपख छुट्टै रौनक छ । महिलाहरु गाउँको एक ठाउँमा जम्मा भई झमटा नृत्य गर्ने र अरु साँस्कृतिक नाचहरुको तयारी गर्ने गरिएको देखिन्छ । हरेक वर्ष आश्विन कृष्णपक्षको अष्टमी तिथिमा मनाउने जितिया पर्व यसवर्ष भने भदौ २८ गते परेको छ ।
सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाउने पर्वमा भने चितवनको शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरमा अध्ययनरत रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवारकी सुस्मा चौधरी आफू जितिया मनाउन नपाउने बताईन । जितियाकै दिन सुस्माको स्नातक तह मानविकी प्रथम पर्वको पपुलेसन विषयको परीक्षा परेको छ ।
यस्तै,थारु विद्यार्थी सभाको केन्द्रीय समितिले थारु समुदायले आफ्नो ऐतिहासिक र साँस्कृतिक पर्व जितियालाई उत्साहपूर्वक मनाउन पाउने अधिकारबाट बञ्चित गरिएकोमा नेपाल सरकारलाई ध्यानाकार्षण गराउँदै जितिया पर्वको अवसरमा सार्वजनिक विदाको घोषणा गर्न माग गरेको छ । केन्द्रीय अध्यक्ष संजय चौधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत यहि मिति २०७४ भदौ २८ गते परेको तराईवासीको महान पर्व जितियाकै दिन त्रिभुवन विश्वविद्यालयले बिए र बि एड प्रथम वर्षको परीक्षा राखेकोले त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकार्षण भएको थारु विद्यार्थी सभाले जनाएको छ ।
चितवनका निजी विद्यालयहरुले पनि हरेक वर्ष जितिया र पितृऔंसी (यमोसा) पर्वमा परीक्षा राख्ने गरेको छ । थारु अधिकारकर्मीहरुले हरेक वर्ष यस विषयमा कुरा उठाए पनि निजी विद्यालयहरुले पेलेरै भए पनि परीक्षा राख्ने गरेका छन् ।

Facebook Comments Box