काठमाडौँ । बन्दाबन्दी खुकुलो गरिएसँगै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट सामान नछुट्दा बन्दरगाहमा चाप बढेको छ । एक हजार ५४२ कन्टेनर राख्ने क्षमता रहेको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर कन्टेनर थन्किएका छन् ।

बन्दाबन्दीको समयमा कन्टेनर क्षमताभन्दा करिब चार गुणा बढी पुगेकोमा बन्दाबन्दी खुकुलो भएपछि आधा घटेका हुन् तर गन्तव्यसम्म पुग्न नपाई थन्किएका कन्टेनर अहिले पनि क्षमताभन्दा दोब्बर रहेका छन् ।

सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारका अनुसार एक हजार ५४२ टीयूई कन्टेनर राख्न सक्ने क्षमता रहेको बन्दरगाहमा तीन हजार ४३३ कन्टेनर थन्किएका छन् । उनले दैनिक दुई ¥याक अर्थात् करिब १८० कन्टेनर आइरहेका तर बन्दरगाहबाट जानुपर्ने सङ्ख्यामा कन्टेनर नगएकाले भन्सार क्षेत्रमा थन्किएको बताए ।

सुक्खा बन्दरगाह भन्सारमा दुई हजार ३२० कन्टेनरभरि सामान रहेको र एक हजार ११३ खाली छन् ।

दैनिकजसो या कहिलेकाहीँ दुईदेखि तीन दिनको अन्तरमा दुई ¥याक कन्टेनर बोकेका रेल आइरहेका छन् तर बन्दाबन्दीका कारण पर्याप्त कन्टेनर अन्यत्र पठाउन नसकिएकाले कन्टेनर थन्किएको उनले बताए।

दैनिक २५० देखि तीन सय कन्टेनर सुक्खा बन्दरगाहबाट निस्कने गरेकोमा हालका दिनमा १८० देखि दुई सयवटा मात्र कन्टेनरबाट सामान लिएर जाने गरेका छन् । बन्दाबन्दीको समयमा १२० देखि १५० कन्टेनर मात्र जाने गरेका थिए ।

व्यवस्थापक सदस्य अनिमेष कुमारका अनुसार बन्दरगाहमा कन्टेनर थुप्र्रिएपछि बन्दाबन्दीका कारण चैत २८ गतेदेखि लाग्ने गरेको जरिवाना पार्किङलगायत शुल्क मिनाहा गरिरएको भए पनि जेठ ६ गतेदेखि भने फेरि लगाइएको छ ।

डिटेन्सन र पार्किङ शुल्क लाग्न थालेपछि व्यवसायीले धमाधम कन्टेनर लग्न थालेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले बताए। आजको गोरखापत्र दैनिकबाट

Facebook Comments Box