अबिनाश आचार्य
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । दुई महिलासहित ४३ जनाको लगातार दोस्रो रिपोर्टमा कोरोना संक्रमण नदेखिएपछि उनिहरुलाई हिजो साँझ डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

पर्साका दुईजना पत्रकारसहित ४१ जना छन् भने सर्लाही र भारतका एक÷एक जना गरि ४३ जनाले कोरोनालाई जितेको उहाँले बताउनुभयो । कोरोना विशेष बनाईएको वीरगञ्जकै गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित अझै उपचाररत छन् ।

यसैबीच, गत जेठ चार गते नेशनल मेडिकल कलेज विगञ्जमा उपचारका क्रममा मृत्यु भएको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि बाराको करैयामाई गाउँपालिकाको एउटा टोल नै पूर्ण बन्द गरिएको छ ।

बाराको करैयामाई गाउँपालिका वडा नम्बर सात उम्जन टोलका ७० वर्षका वृद्धको अत्येष्टि गरिएको एक सातापछि हिजो उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

संक्रमित व्यक्तिको मृत्यु पश्चात अन्तिम संस्कारमा गाउँका ५० जना व्यक्ति सहभागी भएको पाइएपछि गाउँ नै पूर्ण रुपले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

मृत्यु संस्कारमा सहभागी सबैलाई राख्न क्वारेन्टाईन अभाव भएपछि उनिहरुलाई होम क्वारेन्टाईनमै बस्न आग्रह गरिएको जिल्ला प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक गौमत मिश्रले बतानुभयो ।

Facebook Comments Box