काठमाडौ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

हिजो बसेको समितिको बैठकले जातिय विभेद हुनेगरि जनप्रतिनिधि नै संलग्न भएर युवाहरुलाई लखेटि भेरी नदीमा हाम फाल्न बाध्य पारेको घटना गम्भीर भएको भन्दै तुरुन्त छानबिन गर्न समितिले आग्रह गरेको हो ।

समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारले बनाएको कानूनको उल्लघंन गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउन भनिएको बताउनुभयो ।

यस्तै समिति बैठकले सामाजिक सुरक्षाभत्ता सम्बन्धी सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले असहाय, एकल महिला र अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सो ऐन संशोधन गर्ने विधेयक चालु अधवेशनमा पेश गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

Facebook Comments Box