काठमाडौँ । सरकारले मुलुकभर बाँझो र उपयोगबिहीन अवस्थामा रहेको व्यक्तिगत जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक स्थापना गर्ने घोषणा गरेको छ । मुलुकभर व्यक्तिगत जग्गा बाँझो रहने क्रम बढेपछि त्यसलाई व्यावसायिक रूपमा उपयोगमा ल्याई उत्पादकत्व बढाउन सरकारले नीति तथा कार्यक्रममार्फत भूमि बैंक स्थापना गर्ने घोषणा गरेको हो ।

सरकारले भूमि बैंक स्थापनापछि देशभर बाँझो रहेको जमिन उपयोगमा आउने र त्यसबाट कृषि उत्पादन तथा रोजगारी बढ्ने अपेक्षा गरेको छ । जग्गावालले आफ्नो बाँझो जमिन बैंकमा राखेर भूमि बैंकबाट ब्याजजस्तै निश्चित प्रतिफल पाउने छन् ।

मुलुकभर रहेको कुल खेतीयोग्य जमिनमध्ये आधाभन्दा बढी बाँझो र उपयोगहीन अवस्थामा रहेको अनुमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको छ ।

सरकारले आगामी साउन–भदौ महिनाभित्रै भूमि बैंक स्थापना गर्ने गृहकार्य गरिरहेको छ । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने छ ।

Facebook Comments Box