वैशाख २७ गते । रत्ननगर नगरपालिकाले लकडाउन प्रभावकारी वनाउन सिमित अवधिका लागि दिएको गाडी फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन दिएको छ ।

नगरपालिका भन्दा वाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग भएको पाईएपछि नगरपालिकाले पूर्ववत अवस्थामा गाडी फिर्ता गर्न निर्देशन दिएको हो । रत्ननगरले दिएको गाडी शुक्रवार राती राप्ती नगरपालिकामा तस्करीको गाँजा बरामद गरि फर्कदै गर्दा स्थानीयवासी संगको झडपका क्रममा तोडफोड भएको थियो ।

प्रहरीकै मिलेमतोमा नगरपालिकाको गाडीमा गाँजा तस्कर गर्न खोजिएको स्थानीयको आरोप छ । यो घटना वाहिर आएपछि नगरपालिकाले इलाका प्रहरी कार्यालय प्रति असन्तुष्ठी जनाउँदै गाडी फिर्ता गर्न भनेको हो ।

रत्ननगर क्षेत्रमा लकडाउन प्रभावकारी कार्यान्वयनका लागि भन्दै नगरपालिकाले लकडाउन सुरु भएपछि टाँडी प्रहरीलाई बा १२ च २७१ नम्वरको गाडी यो संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै दिएको थियो । तर नगरपालिकाको अनुमती नलिई कार्य क्षेत्र भन्दा वाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग गरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले शनिवार विज्ञप्ती जारी गरि प्रहरी प्रति असन्तुष्ठी जनाउँदै गाडी फिर्ता गर्न भनेका हुन् ।

विज्ञप्तीमा नगरपालिकाको अनुमती नलिई इलाका प्रहरी कार्यालय टाँडी रत्ननगरबाट अन्य प्रयोजनका लागि प्रयोग भएको देखिएको,नेपाल प्रहरी र स्थानीयवासीबीच झडप भई हवाई फायर समेत गर्नु पर्ने अवस्था सिर्जना भएको र नगरपालिकाको सवारी साधन तोडफोड भई क्षती भएको घटनाको नगरपालिकाले खेद प्रकट गरेको उल्लेख छ ।

सो सवारी साधन पूर्ववत अवस्थामानै अविलम्व फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन समेत दिईएको छ । सो घटनाको पूर्वाग्रहरहित अनुसन्धानका लागि सम्वन्धीत निकायलाई रत्ननगर नगरपालिकाले अनुरोध पनि गरेको छ ।

Facebook Comments Box