रवि रोषी
चितवन १३ चैत्र । रत्ननगरको १२ र १३ का वडाअध्यक्षको पहलमा विदेशबाट घर फर्केकालाई क्वारेन्टाइनमा पठाउन आज विशेष अपरेशन सुरु गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट आफ्नो वडालाई मुक्त राख्ने अभियानमा १२ नं. का वडा अध्यक्ष विर बहादुर पाख्रीन, १३ नं. का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, स्वास्थ्य सहायक अमृत कुमार राजभण्डारी, १३ नं.वडाका वडा सदस्य अजित चौंरेल लगायतका सहयोगीहरुको पहलमा सूचनाको आधारमा सम्बन्धित व्यक्तिहरुको घरमा गएर उनीहरुलाई क्वारेन्टाइनमा पठाउने काम भएको हो ।

निशुल्क एम्बुलेन्स सेवा मार्फत भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा पठाइएको छ । हाल सम्म २८ जनालाई भरतपुर स्थित विशेष अस्पतालमा पठाईसकिएको र भोलिका दिनमा पनि यसरी नै घरदैलो कार्यक्रम गरी उनीहरुको स्वास्थ्य परिक्षणको लागि आफुले यस अभियानलाई जारी नै राख्ने बारेमा वडा अध्यक्ष द्धय पाख्रीन र भण्डारीले बताए ।

Facebook Comments Box