रत्ननगर ४ चैत्र । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल निर्माण सुरु भएको छ । नेपाल सरकारले ३५ करोडको लगानीमा निर्माण सुरु गरेको सो सिटीहलको बुधवार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलान्यास गरे ।

पाण्डेले शिलान्यास गरेसंगै सिटीहलको निर्माणकार्य सुरु भएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सिटीहल निर्माण सुरु भएको हो । संघन शहरी तथा भवन निर्माण आयोजना चितवनले भवन निर्माण सूरु गरेको छ । ३५ करोड २२ लाख ७० हजारको लगानीमा एक हजार क्षमताको सिटीहल निर्माण हुने संघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकास अर्यालले जानकारी दिए । उनले एउटा एक हजार क्षमताको ठुलो सिटीहलसंगै ५० जना अट्ने अर्को भवन सहित मिटिङहल समेत निर्माण हुने छ । रेलीगेर कन्स्ट्रक्सन प्रा.लि.ललीतपुरले निर्माणको जिम्मा पाएको छ ।

सिटीहलको शिलान्यास गर्दै पूर्वअर्थमन्त्री पाण्डेले सिटीहल निर्माण पछि सौराहाको पर्यटनले गतिलिने बताए । सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससंगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने विश्वास व्यक्त गरे । प्रदेश सांसद कृष्णप्रसाद खनालले सौराहामा निर्माणहुने सिटीहलले समग्र जिल्लाको पर्यटन विकासमा प्रभाव पार्ने बताए ।

कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले सिटीहल सौराहाको पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने बताए । सिटीहल बनाएर सञ्चालनमा ल्याउने योजनाको सुरुवात भएको छ उनले भने यसले स्थानीय सरकार र यहाँका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण सुरु गरेको हो ।

मेयर वनले नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गामा ठुला आयोजना निर्माणको काम सुरु भएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,नेकपाका नगर अध्यक्ष कुल प्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगर मेयर वनको अध्यक्षतामा भएको कार्यक्रम प्रबक्त राजेन्द्र हमालले सञ्चालन गरेका थिए । कार्यक्रममा रत्ननगरका प्रमुख प्रशसकीय अधिकृत टुवराज पोखरेल सहित वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,सौराहाका पर्यटन व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box