रत्ननगर २ चैत्र । रत्ननगर नगरपालिकामा दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । नेपाल सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाले पनि ९ महिना देखि पाँच बर्ष मुनीका वालवालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउन अभियान सुुरु गरेको हो ।

आइतवार वडा नं १ को वडा कार्यालयमा निर्धारण गरिएको खोप केन्द्रमा मेयर नारायण वनले अभियानको औपचारिक उद्घाटन गरेका हुन । सो अबसरमा उनले निकै चनाखो भएर नगर भित्रका सबै वालवालिकालाई खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । कोही पनि नछुट्ने गरी अभियानलाई प्रभावकारी रुपले अगाडि बढाउन उनले आग्रह गरे ।

रत्ननगरका १६ वटै वडामा खोप लगाउने कार्यक्रम सुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए । वालवालिकालाई खोप लगाउनकै लागि रत्ननगरमा ६१ वटा केन्द्र बनाइएको छ । चैत ७ गते सम्म चल्ने अभियान अन्तर्गत नगर भित्रका ६ हजार १८७ जना वालवालिकालाई दादुरा,रुवेला विरुद्धको खोप लगाइने छ ।

वालवालिकालाई खोप लगाउन रत्ननगर अस्पतालका स्वास्थ्यकर्मी,स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका परिचालन गरिएको छ ।

Facebook Comments Box