रत्ननगर २५ फागुन । रत्ननगर १० मा रहेको युनिक युथ क्लव बकुलहरचोकमा कपडा बैंक जस्तै युनिक युथ निशुल्क उपहार घर स्थापना गरी सञ्चालनमा ल्याएको छ । आर्थिक अभावले कपडा किन्न नसक्नेहरुका लागि निशुल्क कपडा लैजाने व्यवस्था सहितको उपहार घर स्थापना गरिएको हो । सो उपहार घरको आइतवार रत्ननगरका मेयर नारायण वनले उद्घाटन गरे ।

सो अबसरमा उनले राजमार्गको छेउमा उपहार घर स्थापना गरी गरिव र दुखीहरुलाई निशुल्क कपडा उपलब्ध गराउने काम प्रशंसनिय योग्य रहेको बताए । सो उपहार घरमा वालवालिका देखि बृद्ध सम्मले लगाउन मिल्ने कपडा राखिएको क्लवका अध्यक्ष विकास पौडेलले जानकारी दिए । उपहार घर स्थापनाको लागि रत्ननगर नगरपालिका,वडा नं १० वडा कार्यालय,रत्ननगर उद्योग बाणिज्य संघ,बाघमारा मध्यवर्ती सामुदायिक वन,गण्डकी विकास बैंकले आर्थिक सहयोग गरेका छन ।

स्थानीय जनजागृती टोल विकास संस्थाले उपहार घर निर्माणका क्रममा अन्य सहयोग गरेको छ । ५३ हजारको लगानीमा निर्माण गरेको सो घरमा विभिन्न ठाउँबाट कपडा संकलन गरी राखिने छ । पहिलो चरणमा लत्ता कपडा राखिएको र दोश्रो चरणमा जुत्ता,झोला,छाता र रेनकोट लगायतमा सामाग्रीहरु राख्ने योजना रहेको क्लवका अध्यक्ष पौडेलले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वडा नं १० का वडाध्यक्ष केशव आचार्य,वडा नं २ का वडाध्यक्ष तिलकशर्मा पौडेल,कार्यपालिका सदस्य राजेन्द्र हमाल,वडा सदस्यहरु सीता भेटवाल,रमा भट्टराई,जनजागृती टोल विकास संस्थाका अध्यक्ष एकबहादुर जिसी,सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डे,सक्षम आमा समुहकी अध्यक्ष विन्दा खड्का लगायतका सहभागिता रहेको थियो । क्लवका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सचिव सुदिप पाण्डेले सञ्चालन गरेका थिए ।

Facebook Comments Box