काठमाडौ ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै भण्डारीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गर्नुभएको छ ।

वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको उल्लेख गर्नुभएको छ । लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको उहाँको भनाइ छ ।

Facebook Comments Box