काठमाण्डौ । तराईका केही ठाउँका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको छ ।
महोत्तरी, धनुषा लगायत केही जिल्लाका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको नेपाल कृषि अनुसन्धान परिषद् नार्क ले जनाएको छ । गहुँ बालीमा फौजी किराको प्रकोप देखिएपछि कृषिविज्ञसहितको टोली प्रभावित क्षेत्रमा पुगेर फर्किएको छ ।
अहिले गहुँको बाला निस्कने बेला भएकाले बालीमा फौजी किरा लागेको वा नलागेको हेरचाह गर्न नार्क अन्तर्गतको किट विज्ञान महाशाखाका सूचना अधिकारी सुदिप उपाध्यायले आग्रह गर्नुभयो ।
दिउँसो लुक्ने र राति सक्रिय हुने भएकाले खेतमा भएको झार सफा गर्नुपर्ने, प्रकोप देखिएको ठाउँमा गहुँ काटिसकेपछि मकैको सट्टा अरु बाली लगाउनुपर्ने, खेतको एउटा पाटोबाट अर्को पाटोमा खाडल बनाएर पानी जमाउनुपर्ने र त्यो पानीमा जमेका फौजी किरा नष्ट गर्नुपर्ने, बत्तीको पासो बाल्ने गर्दा फौजी किरा हट्ने उहाँको भनाइ छ ।
फौजी किराले बालामुनिको पात खाइदिने भएकाले बेलैमा ख्याल गर्न किट विज्ञान महाशाखा सूचना अधिकारी सुदिप उपाध्यायको सुझाव छ ।
यस्तै इमामेक्टिन बेन्जोएट ५ एस।जी। ० दशमलव ३ ग्राम प्रतिलिटर पानीमा मिसाइ प्रकोपको समयमा आवश्यकताअनुसार एक–दुई पटक बोट भिज्ने गरी साँझपख स्प्रे गर्न तथा विषादी प्रयोग गरिसकेपछि दुईरतीन दिनसम्म बिहान खेतमा गएर मरेका लार्भाहरु सङ्कलन गरी नष्ट गर्न उहाँले सल्लाह दिनुभयो ।

Facebook Comments Box