काठमाडौ २७ माघ । चीनबाट स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउने बारेमा भएका तयारी बारे सरोकारवाला निकायबाट आज राष्ट्रिय मानव अधिकार आयोगले जानकारी लिने भएको छ । जानकारी लिनका लागि परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आज दिउँसो ३ बजे आयोगमा बोलाउने निर्णय भएको आयोगका सचिव बेद भट्टराईले बताउनुभयो ।

हिजो आयोगले चीनमा रहेका नेपाली विद्यार्थीलगायतका अरु नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको थियो । चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकले आयोग पुगेर सरकारले आफ्ना आफन्त फिर्ता ल्याउन बेवास्ता गरेको गुनासो गरेपछि सरकारलाई आयोगले निर्देशन दिएको हो । चीनको हुवेई प्रान्तमा रहेका १ सय ८० नेपालीले स्वदेश फर्काउन माग गर्दै चीनस्थित नेपाली दूतावासमा फारम भरेका छन् ।

यसैबीच चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य अवस्था निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न लागिएको जनाएको छ ।

Facebook Comments Box