भीमोदय नमूना मावि कालिका–५ ,पदमपुर ,चितवनमा आज सरस्वती पूजा, अक्षरारम्भ कार्यक्रम र प्रथम स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षता तथा शिक्षा बिकाश तथा समन्वय एकाइ प्रमूख भूमिलाल सुबेदीको प्रमूख आतिथ्यतामा सम्पन भएको थियो । कार्यक्रममा स्काउटका जिल्ला आयुक्त तिर्थ न्यौपाने, दिनेश पाण्डे, इन्दु सुवेदी, लिला रायमाझी, बुद्दि बहादुर गुरुङ, लिलाबहादुर गुरुङ र वडा न ५ का वडा अध्यक्ष जियंन महतो लगायतको अतिथिहरुको सहभागिता रहेको थियो । विद्यालयका सहायक प्रअ बिष्णुप्रसाद अधिकारिले स्वागत मन्तव्य दिनुभएको थियो । प्रशिक्षक बुद्दि बहादुर गुरुङवाट ४४ जना बिद्यार्थीहरुलाई दीक्षित गर्नुभएको थियो । उनीहरुका अभिभावकहरुले पनि दीक्षित हुने बिद्यार्थीहरुलाइ अबिर र माला लगाई स्वागत गरेका थिए ।

दिक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रशिक्षक गुरुङ्गले स्काउटिङ्गले बालबालिका, किशोरकिशोरी र युवाहरुको शारिरीक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनाको विकाशमा योगदान पुर्‍याउन सहयोग गर्ने भएको हुँदा नगर भित्र यसको आवश्यकता अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा प्रशिक्षक गुरुङले प्रधानाध्यापक डा. हरिप्रसाद कंडेल लाई स्कार्फ प्रदान गर्नुभएको थियो । त्यसपछि प्रधानाध्यापकले सबै अतिथिहरुलाई स्कार्फ प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमूख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुवेदीले भीमोदय मावि चितवनको अग्रगतिमा प्रगति गर्ने बिद्यालय भएको र यो वर्ष सरकारले नमूना बिद्यालय घोषणा गरेकोमा बधाई ज्ञापन गर्नुभयो । प्रधानाध्यापक डा. हरिप्रसाद कंडेलले स्काउटको मर्म अनुसार समाजसेवी, सुयोग्य, चरित्रवान, मिलनसार, स्वावलम्बी नागरिक बनाउने उद्देश्य पुरा गर्न भीमोदय स्काउट सक्षम रहने विश्वास ब्यक्त गर्नु भयो ।

 

अक्षरारम्भ कार्यक्रममा उत्साहजनक रुपमा ३६ जना नया बिद्यार्थीहरुले नाम दर्ता गराएका थिए । पहिलो दिन यति ठूलो संख्यामा नाम लेखाउनुले विद्यालयको बढ्दो आकर्षण र लोकप्रियता रहेको प्र.अ. डा. कंडेलले बताउनुभयो । नव आगन्तुक बिद्यार्थीहरुलाई पोशाक, स्टेशनरी, किताव र झोला वितरण गरि स्वागत गरिएको थियो । यस्तै गरि सरस्वती पूजा मूल तयारी समितिले बिद्यालयको आफ्नै सरस्वती मन्दिरमा पूजा संचालन गरेको थियो । शिक्षक रामप्रसाद खनालको नेतृत्वमा सबै अतिरिक्त कार्यक्रम संयोजक शिक्षक र बिद्यार्थीहरुको नेतृत्वमा बिद्यालयको सरसफाई र श्रृंगार गरि विद्यालयलाई आकर्षक बनाईएको थियो । पूजा गर्ने र प्रसाद वितरण गर्ने कार्यका अतिरिक्त घैटोफ़ोर, भलिबल तथा विविध सांस्कृतिक कार्यक्रमहरुसमेत सञ्चालन भएका थिए ।

Facebook Comments Box