दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले पर्यटन एवं उद्यशमील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । बन्दीपुर केबुलकार प्रालिले हरेक वर्ष पुरस्कृत गर्ने गरी पत्रकारिता पुरस्कारको घोषणा गरेको हो ।
पुरस्कारको राशि रु एक लाख शेयर रहेको र उक्त पुरस्कार कम्पनीको पाँचाँै साधारणसभाका अवसरमा यही माघ २५ गते वितरण गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । पुरस्कृत हुने पत्रकार छनोट गर्नका लागि कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा छनोट तथा वितरण समिति गठन गरिएको छ । केबुलकार परियोजना पूर्ण चरणमा शुरु भएको एक वर्षपछि पुरस्कारको राशि रु तीन लाख पु¥याउने र वार्षिक रुपमा तीन पत्रकारलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ ।
बन्दीपुर, आँबुखैरेनी आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन एवं उद्यमशीलता जागरण ल्याउन कलम चलाएबापत कम्पनीले पुरस्कृत गर्ने नीति बनाएको छ । एक वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिइएको छ । परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । वडा नं ४ ठूल्ढुङ्गामा निर्माण भइरहेको बटम स्टेशन भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ ।
प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।
कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २२५ भन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन् । केबुलकार निर्माणका लागि गाउँपालिकाले रु ५० लाख शेयर लगानी गरेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट एक घण्टामा दुई सयजना वारपार गर्न सक्नेछन् ।
एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको निर्देशक उपाध्यायले जानकारी दिनुभयो । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।

Facebook Comments Box