चितवन २ माघ । आज (बिहीबार) दिउँसोदेखि चितवनमा पानी पर्न थालेपछि यहाँ लागेको महोत्सव प्रभावित हुन डर बढ्यो । दर्शक नआउने होकी भन्ने चिन्ताले सताइरहँदा त्यसको ठिक विपरीत दर्शकहरुको भीड बढ्यो । माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज पाँचौ दिन पानी परे पनि दर्शक आउन छोडेनन् । चर्चित गायिका तथा मोडेल ज्योति मगरको प्रस्तुती हुने भएपछि दर्शकहरुको संख्या दिउँसो देखि नै बढ्दै गएको थियो ।
अपरान्ह ४ बजेपछि स्टेज चढेकी ज्याति मगर एउटा गीत गाउन नपाउँदै वर्षा भयो । तर दर्शकहरु ज्योतिसंगै झुमि रहे । उनको प्रस्तुतीले दर्शकहरु पानीको कुनै प्रवाह नगरी झुमेका थिए । ज्योतिले आधा दर्जन भन्दा बढी गीत प्रस्तुती गरेकी थिइन् ।
खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज अन्य विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको पोका, घोङीको प्रतिमामा र थारु घरमा फोटो खिचाउने दर्शकहरुको भीड लागेको थियो ।
महोत्सव अन्तरगत भोलि (शुक्रबार) चर्चित गायक स्वप्न सुपन र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।


यस्तै महोत्सवको आज नेपाली फुटबलका हस्तिहरुले अवलोकन गरेका छन् । नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवंम काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, संघका कोषाध्यक्ष शरद आले, संघका सदस्य प्रविन लामाले महोत्सव अवलोकन गरेका थिए । उनीहरुलाई महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले सम्मान गरेका थिए ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।
महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहेका छन् ।

खिचरा डान्स आइडलमा टप ७ छनौट

खिचरा महोत्सवको अवसरमा आयोजित नृत्य प्रतियोगिता खिचरा डान्स आइडलमा टप ७ प्रतिस्पर्धी छनौट गरिएको छ । महोत्सवमा आज (बिहीबार) भएको टप १२ प्रतिस्र्धीबीचको प्रतिस्पर्धा पछि टप ७ जना छनौट गरिएको हो । टप ७ बाट नै भोटिङको आधारमा प्रतियोगिताको विजेता छनौट गरिने नृत्य प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।
प्रतियोगिताको टप ७ मा छनौट हुनेहरुमा दर्शना गंधारी, अभिषेक चौधरी, स्मृति भण्डारी, जेनिशा प्रजा, आशिष चौधरी, एके४७ ग्रुप र दिपिका चौधरी रहेका छन् । छनौट भएकाहरुको माघ ४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ । सोही प्रतिस्पर्धा पछि भोटिङका आधारमा विजेता छनौट गरिने संयोजक चौधरीले जानकारी दिए ।

Facebook Comments Box