चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म ६ लेन सडक निर्माणका लागि बाटो खाली गर्ने कामको थालनी भएको छ ।
सडक स्तरोन्नतिका निम्ति विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेकोले सडक आसपासमा रहेका रुखहरु हटाउन थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
अहिले भरतपुर विमानस्थलको उत्तरतर्फको सडकछेउमा पर्ने रुख वन कार्यालयसँगको समन्वयमा हटाउने काम भइरहेको छ । पुल्चोकदेखि गोन्द्राङ सम्म ६ किलोमिटरको दूरीलाई बीचमा मेडियनसहित ६ लेन सडक बनाउने योजना अनुसार सडकआसपासमा पर्ने रुख तथा घरको संरचना हटाउने काम थालिएको छ ।
६ लेनको बाटोका लागि सडकको बीच भाग बाट दायाँबायाँ ५० मिटरभित्र पर्ने संरचना हटाइनेछ । मेडियनबाहेक पनि २५ मिटर पिचको भागमात्रै पर्ने हुँदा त्यसको दायाँबायाँ छोड्नुपर्ने ठाउँ, ढलसहित गरेर दायाँबायाँको भागमा ५० मिटरभित्र पर्ने घरको संरचना हटाउन पत्राचार भइसकेको कार्यालयले जनाएको छ ।
बढ्दो सहरीकरण र सवारी चापले गर्दा सडक विस्तारको काम तीव्र गतिमा गर्नुपर्ने देखिएको छ। सडकको स्तरअनुसार साइकल लेनसहितको बनाउने योजना रहे पनि त्यसबारे निर्णय भएको छैनन् ।
भरतपुर महानगरपालिकाले पनि ६ लेनको सडक निर्माण भइसकेपछि भरतपुर–नारायणगढको स्वरुप नै फरक देखिने बताएको छ । तर, चौबीसकोठीआसपासका क्षेत्रमा पर्ने भौतिक संरचना हटाउन भने वर्षौं देखि हटाउन खोजिए पनि हटाउन सकिएको छैन । यसपटक पनि महानगरपालिकाले हट्नका लागि पत्राचार गरिसकेको बताएको छ ।

Facebook Comments Box