सर्लाही २९ पुस । ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ । सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा प्रहरीले दिउँसो खानतलासी गरेको हो । त्यसक्रममा यादवले विभिन्न व्यक्तिलाई ऋण प्रवाह गर्दा गरेको कागज र विभिन्न बैङ्कका चेक बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
खानतलासी लिँदा बरामद भएको कागजातले घटनाको अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएको छ । यादवको घरमा खानतलासी गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवाको मुद्दा फाँटका प्रहरी निरीक्षक ९इन्सपेक्टर० उमाशङ्कर गुप्ता र ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक ९इन्सपेक्टर० राजेन्द्र यादवको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले यादवको घरमा झण्डै दुई घण्टा लगाएर खानतलासी गरेको हो ।
पीडितले काठमाडौंस्थित गृह मन्त्रालयमा पुगेर मिटर ब्याजी यादवले ठगी गरेको भन्दै उजुरी गरेपछि उनलाई प्रहरीले यही पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो । भेष परिवर्तन गरी भाग्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले मिटरब्याजी यादवविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box