काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरको सौन्दर्य बढाउन भन्दै होर्डिङ्ग बोर्डसँगै साइन बोर्ड पनि हटाउने अभियान थालेको छ । सर्र्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न होर्डिङ्ग बोर्ड र साइन बोर्ड निकाल्न थालिएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले दुई हप्ता अघिदेखि महानगरका विभिन्न स्थानमा राखिएका होर्डिङ्ग बोर्ड निकाल्न थालेको थियो । चारवटा समुह बनाइ थालिएको अभियान अब विभिन्न प्रयोजनका लागि राखिएका साइन बोर्ड हटाउनेतर्फ पनि बढेको छ । भीआइपीहरुको ओहरदोहोर हुने बाटोलाई प्राथमिकतामा राखेर यस्ता बोर्डहरु हटाउने कामलाई अघि बढाइएको हो ।
बिजुलीको पोलदेखि घर घरमा राखिएको कुनै पनि किसिमको साइनबोर्ड हटाइने महानगरपालिकाका प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले बताए ।
शहरको सानो भन्दा सानो गल्ली भित्रको पसलमा राखिएका साइन बोर्ड पनि यो अभियानमा समेट्ने महानगर प्रहरी प्रमुख सापकोटाको भनाइ छ ।
अभियान अन्तर्गत शहरका ८ सय ८३ वटा साइनबोर्ड निकाली सकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले बिनापूर्व सूचना साइन बोर्ड हटाएको भन्दै केही व्यवसायीले भने गुनासो गरेका छन् ।
महानगरपालिकाले घरको भित्तामा मात्र त्यस्तो आफ्नो पसल वा कार्यालयको बोर्ड राख्न पाउने तर नियम विपरित साइनबोर्ड राखेको पाइए कारवाही गरिने महानगरपालिकाले स्पष्ट पारेको छ ।

Facebook Comments Box