काठमाडौं :  बुद्ध एअरले शनिबार नेपालगञ्जबाट काठमाडौं उडानमा ढिलाइ भएको बारे स्पष्टीकरण दिएको छ ।  काठमाडौंबाट उडान ढिला हुँदा नेपालगञ्ज पुगेर फर्कन ढिलाइ भएको बुद्ध एअरले स्पष्ट पारेको छ । शनिबार नेपालगञ्ज विमानस्थलबाट फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडान एक घण्टा ढिलाइ भएको भन्दै केही यात्रुहरुले  मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

बुद्ध एअरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीका कारण मात्रै उडान ढिला नभएको स्पष्ट पारेको हो ।

बुद्ध एयरले प्राधिकरणमा बुझाएको पत्र यस्तो छ :

मिति २०७६ भाद्र २८ गते शनिवारको उडान माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्ठराई समेत रहनुभएको थियो सो उडान घटनाको घटनाक्रम तपसिलमा उल्लेख गरिए बमोजिम पाइएको छ ।

१. काठमाडौंबाट नेपालगन्जका लागि विमान १६:५० बजे उड्नु पर्ने मा काठमाडौंबाट नै २३ मिनेट ढिला भई १७:१३ मा उडेको थियो र विमान नेपालगन्जमा १८:०२ मा अवतरण गरेको थियो ।

२. काठमाडौंको बुद्ध एयर फ्लाइट  अपरेशनले नेपालगन्जलाई दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट विमान १८:२५ को सट्टा १८:४० मा उड्नुपर्ने थियो ।

३. बुद्ध एयरसँगै जस्तो यती एयरलाइन्सको विमान १७:५३ मा अवतरण गरेर १८:२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८:३० मा अवतरण गरेर १८:५१ मा उडेपछि हाम्रा यात्रुहरू विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए सोही समयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूका सहयोगीले १८:२५ तिर नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत फोन गरेर हामी धम्बोजी आइपुग्यौं भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यु आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरूलाई १८:३० तिर विमानमा वोर्डिङ गर्नुभएको थियो तर त्यसो नभई वहाँहरूले फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो ।

४. माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरूकै अगाडि १४-१५ जना यात्रुहरूको समूह हाम्रा विमान परिचारिकाहरूले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोसित भई विमानबाट १८:४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरूसँग वादविवाद गर्न थाल्नुभएको थियो सो विवाद ६-८ मिनेट जति चलेको थियो ।

५. मन्त्रीज्यु १८:५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह वहाँतिरै फर्केर तपाईं किन ढिला आउनुभएको, तपाईंले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनी अझ आक्रोसित हुनथालेपछि मन्त्रीज्यू चुपचाप विमानभित्र चढ्नुभयो र सो समूह म्न्त्रीज्यूसँगसँगै विमान भित्र एकैचोटी चढेर एकैठाँउमा उभिएर ४-५ मिनेटसम्म अझ बढी आक्रोस पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समूहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको थियो ।

६. नेपालगन्जलाइ दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट २४ मिनेट ढिला भई १९:०४ मा विमान उडेको थियो ।

७. उल्लेखित घटनामा माननीय मन्त्रीज्यूका सुरक्षाकर्मी र सहयोगीहरूले देखाएको संयमताका कारण पनि आक्रोसित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो ।

Facebook Comments Box