काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूले सम्बोधन गर्न नपाएको झोंक पत्रकार सम्मेलन गरी पोखेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पहिले प्रधानमन्त्रीले बोल्ने कि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बोल्ने भन्नेमा विवाद भएपछि कांग्रेसले संसद अवरोध गर्दा ओलीले सम्बोधन गर्न पाएका थिएनन् ।

त्यसपछि मंगलबार अपराह्न उनले सिंहदरबारमा पत्रकार सम्मेलन गरी कांग्रेस गैरजिम्मेवार रहेको र अहिलेको नेकपा सरकार जिम्मेवार रहेको बताए ।

उनले आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसले अलोकतान्त्रिक प्रवृत्ति देखाएको आरोपसमेत लगाए ।

अहिलेको सरकार राष्ट्रिय हित र लोकतन्त्रका लागि प्रतिबद्ध रहेको जिकिर उनले गरे ।

सोक्रममा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणकाबारेमासमेत जानकारी गराए ।

उनले अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्बन्ध थप विस्तार भएको दाबी गरे ।

आफू बाहिर गएपछि केही शक्तिहरु बाहिर आउने प्रयास भएछन् भन्दै प्रधानमन्त्री ओलीले २०३३ सालमा आएको गुठी ऐनले राम्ररी काम गर्न सकेन भनेकैले पुनर्गठन गर्न खोज्दा अदालतले पुनस्र्थापित गरेपछि प्राधिकरणकारुपमा लैजान खोजिएको बताए ।

गुठी विधेयकप्रति उल्टो र भ्रमपूर्ण कुराहरु गएको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा धरोहर संरक्षण गर्नका लागि त्यसको दुरुपयोग नहोस् भनेर लागेको बताए ।

काठमाडौंका गुठी चाडपर्व, धर्म, संस्कृतिप्रति केन्द्रित भएकाले त्यसको थप संरक्षणका लागि गुठीलाई प्राधिकरणमा ढाल्न खोजिएको उनको स्पष्टीकरण छ । गुठियारहरु इमान्दार नभएकाले र भएका सम्पत्ति र धरोहरहरु हराउन नपाउन् भनेरै प्राधिकरण ल्याउन थालिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताले चुनेको र उत्तरदायी भएको भन्दै अब पटक–पटक माइतीघर मन्डला वा सडकमा जानुपर्ने आवश्यकता नभएकोसमेत बताए ।

उनले अहिले भएका आन्दोलनलाई ‘लोकतन्त्रविरोधी गतिविधि’समेत भने । यो आन्दोलनबाट लोकतन्त्रका जरा काट्नेहरु सल्बलाएको प्रधानमन्त्री ओलीको तर्क छ ।

उनले गुठी प्राधिकरणले गुठी सन्चालन गर्ने भनिएको भनाइमा सत्यता नभएको स्पस्ट पारे ।

पत्रकार सम्मेलनमै उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रियसभामा दर्ता गराएको गुठीसम्बन्धी विधेयक फिर्ता लिएको जानकारी सन्चारमाध्यमबाट आफूले पाएको सुनाए । यो कदम उचित भएकोसमेत उनले बताए ।

गत आइतबार युरोप भ्रमणबाट फर्केपछि ओलीले विपक्षीलाई आन्दोलन गर्न नदिने भन्दै विधेयक संशोधन गर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले सोमबार काठमाडौं उपत्यकाका नेकपाका जनप्रतिनिधिहरुसँगसमेत छलफल गरेका थिए । छलफलमा उनलाई गुठी विधेयक फिर्ता लिन सुझाव दिइएको थियो ।

पत्रकार सम्मेलनमा सन्चारमाध्यमप्रति कटाक्ष गर्दै उनले भाषा, बोलाइमा सुधार ल्याउन आग्रह गरे । सामाजिक क्षेत्रमा सन्चारमाध्यमबाट बोलिएको कुरा सार्वजनिक हुने भएकाले त्यसप्रति सचेत रहन उनले सुझाव दिए ।

Facebook Comments Box