चितवन ३ असार। चितवनको खैरहनी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको मंगलवार शुभारम्भ गरेको छ । नगरको वडा नम्वर १ बाट रोजगार कार्यक्रमको सुरुवात गरिएको हो । खैरहनीका मेयर लालमणी चौधरीले वेरोजगारको सुचीमा नाम दर्ता गराएकालाई हाते सामाग्री हस्तान्तरण गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरे । वडा नम्वर १ का ७ जनाले पहिलो चरणमा सार्वजनिक जग्गामा फलफुलका विरुवा वृक्षारोपणका लागि काम गर्नेछन् । रोजगार कार्यक्रमको सुरुवात गर्दै खैरहनीका मेयर चौधरीले मानविय श्रोत साधनले सम्भव हुने विकास निर्माण काममा ठुलो मेसिनलाई विस्थापित गरिने वताए । साथै मेयर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमले वेरोजगार भएकाहरुलाई थोरै भएपनि राहत मिल्ने विश्वास व्यक्त गरे । नगरपालिकाले वातावरण संरक्षणसंगै आयआर्जनका लागि सार्वजनिक जग्गामा फलफुलका विरुवा रोप्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । पहिलो चरणमा फलफुलका विरुवा रोप्न लगाईएपनि वेरोजगारको फारम भरेकाहरुलाई विकास निर्माणका अन्य काममा समेत लगाउने नगरपालिकाले योजना वनाएको शर्माले वताए । दैनिक ८ घण्टा काम गरेवापत उनीहरुले नेपाल सरकारले तोकेको ६ सय ३० रुपैया प्राप्त गर्नेछन् । नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलका अनुसार खैरहनीका १३ वटा वडाबाट ९ सय जनाले वेरोजगारको फाराम भरेका छन् ।

Facebook Comments Box