चितवन, २९ जेठ । जिल्लामा आवश्यक पर्ने भन्दा बढी दूध उत्पादन भएर अन्य जिल्लामा समेत दूध निर्यात गर्दै आएको चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको छ ।
चितवनको रत्ननगरमा आयोजित चितवन दूधमा आत्मनिर्भर घोषणा कार्यक्रममा प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेका हुन् । चितवन दूधमा आत्मनिर्भर घोषणासँगै मन्त्री लामाले दूधमा आत्मनिर्भर घोषणाको प्रमाणपत्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्कस डाक्टर विजयकुमार श्रेष्ठलाई प्रदान गरे । चितवनमा वार्षिक रुपमा प्रतिव्यक्ति आवश्यकताभन्दा ७८ लिटर दूध बढी उत्पादन हुने भएकाले चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गरिएको हो ।
चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गर्दै कृषि मन्त्री लामाले चितवन जिल्लामा वार्षिक एक लाख पाँच हजार ६ सय नौ मेट्रिक टन दूध उत्पादन हुने गरेको बताए । ‘यस परिमाणलाई आधार मान्दा वार्षिक प्रतिव्यक्ति दूधको आवश्यकता एक जनाको लागि भन्दा ७८ लिटर बढी हुन आएकाले चितवन जिल्लालाई विधिवत रुपमा दूध उत्पादनमा आत्मनिर्भर घाषणा गर्दछु’ मन्त्री लामाले भने ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर विजयकुमार श्रेष्ठले एक व्यक्तिले वार्षिक ९१ लिटर दूध सेवन गर्नुपर्ने बताए । जिल्लामा ६ लाख २५ हजार जनसंख्या रहेकोमा उनीहरुलाई दैनिक ५६ हजार लिटर दूध आवश्यक पर्ने उल्लेख गर्दै श्रेष्ठले जिल्लामा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुने गरेको जानकारी दिए । चितवनमा खपत भएर बाँकी रहने करिब ५७ प्रतिशत दूध काठमाडौं, पोखरालगायतका सहरहरुमा निर्यात हुने गरेको छ ।
तथ्यांक संकलनका क्रममा चितवन जिल्लामा एक सय ३८ वटा दुग्ध सहकारी संस्थाहरु दर्ता भएको देखिए पनि एक सय चार वटा मात्रै सक्रिय रहेको श्रेष्ठले जानकारी दिए । चितवनमा दूध दिने गाईमध्ये उन्नत जातका ३९ हजार र स्थानीय जातका १० हजार गाई रहेका छन् । यसैगरी १० हजार स्थानीय र नौ हजार उन्नतजातका भैँसी छन् ।
सोही घोषणा सभामा चितवन जिल्लाका दुग्ध सहकारी संस्थाहरु मार्फत किसानलाई अनुदान समेत वितरण गरिएको छ । प्रदेश नम्बर ३ सरकारले चितवनका ७४ वटा दुग्ध सहकारी संस्थाहरुलाई प्रतिलिटर ५१ पैसाका दरले ९० लाख रुपैयाँ अनुदान वितरण गरेको हो ।
सो कार्यक्रममा प्रदेश नम्बर ३ का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल, प्रदेशसभा सदस्यहरु कृष्ण भुर्तेल, कञ्चन खनाल, रामलाल महतो, प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, दूध किसान डिल्लीप्रसाद थपलिया, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेललगायतले मन्तव्य राखेका थिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका वरिष्ठ पशु चिकित्सक डाक्टर विजय कुमार श्रेष्ठको अध्यक्षतामा भएको दूधमा आत्मनिर्भर घोषणा कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा रहेका थिए ।

Facebook Comments Box