काठमाडौं, २८ जेठ । सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोधमा राजधानीमा दैनिकजसो आन्दोलन भइरहेको समयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता भीम रावलले समेत विधेयकको विरोध गरेका छन् ।
रावलले मंगलबार ट्वीट गर्दै विधेयकप्रति घुमाउरो पारामा असन्तुष्टि जनाएका हुन् ।
‘कुनै देशलाई समाप्त गर्नुछ भने त्यहाँको भाषा, संस्कृति, जीवनपद्धति र सामाजिक सद्भाव समाप्त गरिदिए पुग्छ भन्ने भनाइप्रति ध्यान दिनु बुद्धिमानी हुन्छ,’ रावलले ट्वीट गरेका छन् । विधेयकको प्रष्ट विरोध नगरे पनि विधेयकमार्फत संस्कृतिमाथि प्रहार भएको संकेत उनले गरेका हुन् ।
उनले संस्कृतिमा कुनै विकृति भए सुधारेर लैजानुपर्ने सुझावसमेत दिएका छन् । ‘जीवन पद्दतिलाई परिस्कृत र समयानुकुल तुल्याउँदै जानुपर्छ,’ उनले भनेका छन् ।
सो विधेयकको विरोधमा नेपाली कांग्रेस, राप्रपा लगायतका दलसमेत उभिएका छन् । सत्तारुढ दल नेकपाका अन्य नेता भने विधेयकको खुलेर विरोध गर्न सकिरहेका छैनन् ।
नेकपा सांसद रामकुमारी झाँक्रीले विधेयकमा रहेका त्रुटि सच्याउन सकिने भन्दै आन्दोलन गरिरहन आवश्यक नभएको तर्क सामाजिक सञ्जालमार्फत नै गरेकी छन् ।

Facebook Comments Box