चितवन ०३ जेठ । नेकपाका नेताहरुले मदन भण्डारी नेपालमा कम्युनिष्ट स्थापित गर्ने जननेताको रुपमा स्मरण गरेका छन । २६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा दासढुंगामा आयोजित श्रद्धाञ्जली सभामा नेताहरुले मदन भण्डारीकै कारण नेपालमा कम्युनिष्ट स्थापित भएको र उनकै योगदानका कारण अहिले नेपालमा कम्युनिष्टहरुले दुई तिहाईको सरकार चलाउने अबसर पाएको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनालले १९ औं सताब्दीका विश्वमा कम्युनिष्ट पार्टी र उसको सरकार धर्मराइरहेको अबस्थामा मदन भण्डारीले नेपालमा कम्युनिष्ट पार्टीलाई जनताको बीचमा स्थापित गराउन सफल भएको बताए । भण्डारीले विचारलाई आत्मसाथ गरी अहिलेको सरकार र कम्युनिष्ट पार्टीले जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा नेकपा प्रदेश नं ३ का अध्यक्ष घनश्याम दाहालले मदन भण्डारीले तय गरेको समाजबादी यात्रालाई सफल बनाउन सरकारले जनताको पक्षमा काम गर्ने र भएका कामहरुलाई जनताको पक्षमा लैजानु पर्ने बताए । कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले भण्डारीकै कारण नेपालमा कम्युनिष्टहरुको दुई तिहाईको सरकार रहेको बताए । उनले अहिलेका जनप्रतिनिधिहरुले निष्पक्ष र निश्वार्थका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि पूर्व पोलिटव्युरो सदस्य काशिनाथ अधिकारीले मदन भण्डारी माक्सवादको सृजनात्मक प्रयोग गर्ने नेपालका एक मात्र जननेताको रुपमा स्मरण गरे । उनले मदन भण्डारीको सपना पुरा गर्न कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने बताए । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रम सचिव तथा प्रतिनिधि सभा सांसद कृष्णभक्त पोखरेलले सञ्चालन गरेका थिए ।

Facebook Comments Box