काठमाडौ १९ फागुन । पूर्व उपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । उपचारका क्रममा उहाँको गएराती निधन भएको हो । काठमाडौंको ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएका अधिकारीको राति ९ बजेर ३५ मिनेटमा निधन भएको चिकित्सकले घोषणा गरेका हुन् । करेन्ट निमोनिया कारण ८२ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो । अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ । आज बिहान ९ देखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको हो । त्यसपछि कार्यालयबाट शवयात्रासहित पशुपति आर्यघाटमा आजै उहाँको अन्त्येष्टी गरिने नेकपाले जनाएको छ । अधिकारीका तीन छोरी छन् । तत्कालिन नेकपा एमालेको ९ महिने शासनकाल अर्थात् २०५१ सालमा नेता अधिकारी पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री हुनुभयो । ‘वृद्धभत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम उहाँकै पहलमा घोषणा गरिएका हुन् । वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्मिनुभएका भरतमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गर्नुभयो । २००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताउनु भएको थियो । नेता अधिकारीले आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाण्डु सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान–श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी कार्यक्रम समेत ल्याउनु भएको थियो । नेता अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसदमा निर्वाचित हुनुभएका उहाँ दोस्रो संविधानसभामा समानुपातिक सभासद बन्नु भएको थियो ।

Facebook Comments Box